धरान: मोरङको एभरेष्ट भेट्रान हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा हिजो बुधबार भएको खेलमा झापाको दुधे भेट्रानलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एभरेष्टका नगेन्द्रमणि लिम्बू, सन्तोष बस्नेत, विष्णु सुनार, भेषराज लिम्बू र मदन राईले गोल गरे भने दुधेका मनोज लिम्बू, भिष्म प्रसाद खरेल, सन्तोष लिम्बू र भिम सुब्बाले गोल गर्दा हेमप्रसाद चेम्जोङको प्रहार बाहिरिदा दुधेले हार बेहो¥यो । 

खेलको दोस्रो मिनेटमा नै एभरेष्टका सतिस केसीले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । तर दुधेका भिष्मप्रसाद खरेलले १६ औ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याएका थिए । खेलको दोस्रो हाफको ८ औ मिनेटमा सन्तोष लिम्बूले दुधेको तर्फबाट गोल गरी टोलीलाई २–१ को अग्रता दिलाएका थिए । तर खेलको अन्तिम मिनेटमा एभरेष्टका सतिस केसीले गोल गर्दै खेल पुनः बराबरीमा पु¥याएका थिए । खेलको म्यान अफ द म्याच एभरेष्टका नरेन्द्र लिम्बू घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । आज बिहिबार लेटाङ भेट्रान र दमक लखनपुर भेट्रानबीच दोस्रो तथा अन्तिम सेमिफाइनल खेल हुनेछ ।