सुनसरी: प्रदेश १ जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी बिराटनगरको मोतिराम स्पोर्टिङ्ग क्लबले जितेको छ । 

इटहरी रंगशालामा आज बुधबार सम्पन्न फाइनल खेलमा धनकुटाको देउराली फुटबल क्लबलाई २–१ को कठिन जित निकाल्दै मोतिराम च्याम्पियन भएको हो । उपाधीसंगै मोतिरामले नगद २ लाख हात पारेको छ भने उपबिजेता देउराली फुटबल क्लबले एक लाख रुपैयामा पाएको छ ।

फाइनलमा मोतीरामलाई उपाधी जिताउन दिवाकर चौधरी र उमेश कार्कीले महत्वपुर्ण एक एक गोल गरे । देउरालीको तर्फबाट सञ्जय रम्तेलले गरेको एक गोल सान्त्वनामा सिमित भयो । खेलको १८ औं मिनेटमा सञ्जयको गोलबाट अग्रता लिएको देउरालीले त्यो अग्रता जोगाउन नसक्दा पराजित भयो । 

पहिलो हाफमा एक गोलले पछी परेको स्थितिलाई उल्टाउदै मोतिरामको तर्फबाट दोस्रो हाफको १५ औं मिनेटमा दिवाकर चौधरीले एक गोल गरेर खेललाई बराबरीमा पुर्याए । दोस्रो हाफमा थप आक्रमण बुनेको मोतिरामको तर्फबाट थपिएको ४ मिनेटको अतिरिक्त समयमा उमेश कार्कीले गरेको निर्णायक गोलनै मोतिरामलाई उपाधी जिताउन पर्याप्त बन्यो । 

        प्रतियोगितामा मोतिरामका उमेश कार्की उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५ हजार १ सय रुपैया पुरस्कार पाए । प्रतियोगितामा मोतिरामका शुशिल राई म्यानअफद फाइनल, किशोर गिरी उत्कृष्ट गोलकिपर र पारस चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । देउरालीका पदम भटराई उत्कृष्ट डिफेन्स, मनकुमार रार्ई उत्कृष्ट मिडफिल्डर, बिरेन लिम्बु उत्कृष्ट फरवार्ड र सञ्जय रम्तेल हाईस्कोरर घोषित भए । उनीहरु सबैले जनही ३ हजार ५ सय रुपैया नगद पुरस्कार पाए । 

     गायिका ज्योति मगरको संगितिक प्रस्तुती समेत रहेको प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमहरुलाई राष्टिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिंग, प्रदेश एक खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष दिपक राई लगायतले पुरस्कार बितरण गरे । जेठ २६ गतेदेखी सुरु भएको लिगमा प्रदेश एकका एघार जिल्लाका जिल्ला च्याम्पियन क्लबहरुको सहभागिता रहेको थियो ।