धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टरलाई भेट्न आएकी २७ बर्षीया प्रकृति सुवेदीले बुधबार दिउँसो होटलमा झुण्डिएर आत्महत्याको प्रयास गरेकी थिइन् । 

रौतहट विवाह गरेकी सुवेदीको प्रतिष्ठानकै आइसियु कक्षमा उपचार भइरहेको थियो । उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोधपुछको लागि नियन्त्रणमा लिइएका डा.करण यादवलाई माइती पक्षको जाहेरी पनि अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको थियो । तर, प्रकृतिको मृत्यु भएको कारण अब डा. यादवलाई कर्तव्य ज्यान मुद्दा लाग्ने भएको छ । आइसियुमा उपचार भइरहेको कारण प्रकृतिको माइती पक्षले बिहिबार अभद्र व्यहारको जाहेरी दिएपछि डा.यादवलाई म्याद थप भएको थियो । 

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार माइती पक्षबाट कर्तव्य ज्यानको जाहेरी आइसकेको छ । अभद्र व्यवहार मुद्दा दर्ता भएपनि मृत्यु पछि अर्को जाहेरी आएकोले मुद्दा परिवर्तन हुने उनले बताए । मृतक प्रकृति विवाहित भएकोले उनको श्रीमान्लाई पनि धरान बोलाइएको प्रहरी निरीक्षक रायले बताए । जाहेरी भर्खर आएको छ , दर्ता हुन्छ । श्रीमान् पनि आइदैछन्, त्यसपछि पोष्टमार्टम गरेर थप प्रक्रिया अघि बढ्छ, उनले भने । 

डा.यादव र मृतक सुवेदी केही बर्षदेखि प्रेम सम्बन्धमा थिए । सुवेदी विवाहित भएपनि उनको श्रीमानसँग सम्बन्ध राम्रो थिएन । दुवैको सम्बन्ध विच्छेद प्रक्रियामा नै थिए । एक छोराकी आमा सुवेदी पछिल्लो समय काठमाण्डौंमा होस्टलमा बस्थिन्, र एक कन्सल्टेन्सीमा कार्यरत थिइन् । डा.यादव वीरगञ्जमा एक निजी क्लिनिकमा काम गर्ने क्रममा प्रकृतिसँग नजिकिएको बताइएको छ । त्यसबेला उनी पनि क्लिनिकमा कार्यरत थिइन् । 

डा. यादवलाई प्रकृति विवाहित हो भन्ने थाह नभएको र पछि थाह पाएपछि टाढिन खोजेको उनको माइती पक्षको भनाइ छ । धरानमा यादवले नै बोलाएर होटलमा राखेको र झुण्डिएर आत्महत्या प्रयास गरेको भनेपनि शंकास्पद घटना भएको माइती पक्षको भनाई छ । प्रकृतिको २ वटा मध्ये एउटा मोवाइल पनि फेला नपरेको माइती पक्षको भनाई छ । मृतकको ९ बर्षको छोरा छ । उनी मामा घरमा नै बस्छन् । डा.यादवको घर पर्साको वीरगञ्ज महानगरपालिका २३ हो । पढाईमा अब्बल रहेका यादव काठमाण्डौंको सेन्ट जेभियर्स स्कुल पढेका हुन् । वीपी प्रतिष्ठानबाटै एमबिबिएस गरेका उनी हाल इर्मजेन्सीमा कार्यरत थिए ।