धरान: कोशी राजमार्गअन्तर्गत धरान इटहरी सडक खण्ड निर्माणमा ढिलाई हुदा सर्वसाधारणले सास्ती भोग्नुपरिरहेको छ भने दुर्घटना पनि बढीरहेको छ । 

यो राजमार्ग मृत्यु मार्गमा परिणत भएको भन्दै नेपाल बसोबास बस्ती संरक्षण समाजले शुक्रबार दिउँसो विरोध स्वरुप चक्काजामसमेत गरेको छ । समाजको अगुवाईमा धरानको तीनकुनेमा विरोध स्वरुप चक्काजाम भएको हो । अतिब्यस्त सडक निर्माणमा लापरवाही र ढिलासुस्ती भएकोले दुर्घटना बढेको र ज्यानसमेत गुमिरहेको कारण निर्माण सम्पन्न गर्न दबाब स्वरुप आधा घण्टा सांकेतिक विरोध गरेको समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले जानकारी दिए । 

road1

अध्यक्ष कार्कीका अनुसार समाजले सडक विभाग, ठेकेदार कम्पनीमा पनि डेलिगेशन गएको थियो । विभागले ठेकेदार कम्पनीलाई बजेट निकासा गरिसकेको जानकारी दिएपनि काम शुरु नभएकोले दबाब स्वरुप चक्काजाम गरिएको कार्कीले जानकारी दिए । ठेकेदार पक्षबाट ६ गतेदेखि काम शुरु गर्ने जानकारी दिएको भन्दै उनले शुरु नभए सडक विभागमा धरानबासीहरु गएर तालाबन्दी गर्ने पनि चेतावनी दिए । 

ट्राफिक प्रहरीका अनुसार पछिल्लो एक बर्षमा यो सडकखण्डमा ४१ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ६ जनाको अवस्था गम्भीर छ । अन्य ६३ जना सामान्य घाइते भएको तथ्यांक रहेको छ ।