धरान: धरान ११ सुनौलो चोक (गैरी गाउँ)का एक सुकुम्बासी परिवार यतिबेला निक्कै ठुलो आपतमा छ । घरको जेठा छोरा हर्कबहादुर थापा देब्रो खुट्टाको हड्डीको क्यान्सरले भरतपुरमा उपचाररत छन् । यता आमा बुबाको मन छोराको उपचार खर्च जुटाउन नसक्दा भतभति पोलिरहेको छ ।

बुबा जीतबहादुर थापाका अनुसार करिब अढाई महिनादेखि जेठा छोरा हर्कको उपचार भरतपुरमा भइरहेको छ । घुँडा असाध्यै दुख्न थालेपछि धरानकै वीपी प्रतिष्ठानमा अप्रेशन भएको थियो । तर, समस्या बढेर प्रतिष्ठानले भरतपुर रिफर गरेपछि तत्काल क्यान्सरको उपचार गर्न लगिएको उनले बताए । अहिले किमोथेपारी गरिरहनुपरेको छ । छोरालाई ८ पटक किमो गर्नुपर्ने र एक पटकमा २५ हजार जति खर्च हुने बुबा जीतबहादुर बताउँछन् ।

सुकुम्बासीमा घर भएको यो परिवारको दीगो आयस्रोत छैन । घरमा सानो किराना पसलबाट जेनतेन परिवार चलेको छ । पाँच भाई छोरामध्ये विरामी हर्क जेठा हुन् । उनी मिस्त्री काम गर्थे । सानैदेखि उनको आँखा पनि कमजोर छ । कान्छा छोरा कक्षा १२ मा पढ्दैछन् । अरु छोराहरु पनि गाडी चलाउने, पेन्टिङ काम गर्ने गर्छन् । तर, यो काम पनि दिगो र भरपर्दो छैन । परिवारमा एक छोरी पनि छिन् ।

cancer1

बुबा जीतबहादुर भन्छन्,‘डाक्टरले स्टिल हाल्नुपर्ने भनेको छ । त्यसको लागि पनि ५ देखि ७ लाखसम्म खर्च लाग्छ । आर्थिक स्रोत केही छैन ।’ अहिले किमो गरेपछि ५ दिनसम्म मात्र अस्पतालमा बस्न पाइने र डिस्चार्ज गरेपछि बाहिर होटलमा बस्नुपर्दा त्यहाँ पनि धेरै खर्च हुने गरेको बुबा जीतबहादुरले बताए । आफ्नो छोराको लागि देशविदेशबाट सहयोग पाएमा उपचार राम्रो हुने भन्दै उनले सहयोगको अपिल पनि गरेका छन् ।

हर्कको उपचारको लागि परिवार मात्र होइन, छरछिमेकीहरु पनि धेरै चिन्तित छन् । सुनौलो सक्षम महिला समुहले सहयोग संकलनको लागि अभियान शुरु गरेको तर पर्याप्त जुटाउन नसकेको अध्यक्ष सहारा गुरुङ कार्कीले सुनाइन् । वडा कार्यालयबाट सिफारिश निकालेर नगर हुदै सिडिओमा पुगेको र सिडिओले मेयरको हस्ताक्षर चाहिन्छ भनेको पनि उनले सुनाइन् । यता, मेयरले हस्ताक्षर गर्न नमानेपछि सिडियो कार्यालयबाट स्वीकृति नमिल्दा सहयोग संकलन अभियान शुरु गर्न नसकेको पनि उनले बताइन् । ‘अब मिडियामार्फत सबैले थाह पाएपछि सहयोग जुट्छ, र हर्क भाईको उपचार राम्रो हुन्छ भन्ने आशा छ,’उनले भनिन्,‘भाईको आमा बुबा एकदम हतास, र निराशमा हुनुहुन्छ । कसरी जुटाउने भनेर । सबैबाट धेर, थोर सहयोगको अपेक्षा छ ।’

जन्मदिनमा आर्थिक सहयोग

cancer2

आफ्नो ३३ औं जन्मदिनमा धरानकी महिला व्यवसायी लक्ष्मी प्रधानले क्यान्सर पीडित हर्कबहादुरको उपचारको लागि सहयोग गरेकी छिन् । धरान ११ स्थित नगरकोट घर भएकी र धरान १२ चतरालाइनमा थेरापी सेन्टर सञ्चालन गरिरहेकी प्रधानले सोमबार सहयोग गरेकी हुन् ।

प्रधानले आफ्नो ३३ औं जन्मदिनमा ३३ सय रुपैया क्यान्सर पीडित हर्कका बुबा आमालाई हस्तान्तरण गरेकी थिइन् । उनले विगत ३ बर्षदेखि आफ्नो जन्मदिनको अवसरमा थोरै भएपनि कही न कही सहयोग गर्दै आइरहेको पनि जानकारी दिइन् । ‘मेरो सानो भएपनि सहयोगले सबैमा सहयोगको भावना विकास होस् भनेर गर्ने गरेको छुँ । सकरात्मक सन्देश प्रवाह होस् भन्ने पनि चाहन्छुँ,’उनले भनिन् । पहिलो बर्ष सडक मानवहरु राखेको लांघाली वन समुहमा अर्को बर्ष माया घर इटहरीमा सहयोग गरेको पनि उनले बताइन् । 

भिडियो: