धरान: केही दिनअघि धरान २० स्थित टोड्केमा ६४ बर्षीया वृद्धाको हत्या गरि गरगहना लुटपाट गरि फरार भएको घटनामा २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी ८ का १८ बर्षीय निखिल भनिने नकुल राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अर्का सुनसरीको भोक्राहाका रञ्जित साह पनि पक्राउ परेका छन् । राईले मृतक वृद्धको लुटेको गहना साहलाई राख्न दिएका थिए । गएको भदौ २८ गते वृद्धा पुर्णिमाया राईको घरमा हत्या भएको थियो । उनको हत्या भएको घटना भोलीपल्ट मात्र सार्वजनिक भएको थियो । हत्यामा संलग्न राईलाई प्रहरीले विराटनगरको रानी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नकुलले गरगहना लुटपाट गर्न वृद्धाको घर पुगेको र खुकुरीले हत्या गरेको प्रहरीको दाबी छ । 

हत्या पछि मृतकले लगाएको गरगहना लिएर उनी भागेका थिए । लुटेर लगेको गहना उनले भोक्राहका साहलाई राख्न दिएर उनी लुकेर भारततर्फ जान लागेको बेला प्रहरीको फन्दामा परेका हुन् । सुनसरी प्रहरीले साहको साथबाट लुटेको गहना पनि वरामद गरेको जनाएको छ । पक्राउ परेका दुवैलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोप लागेका राई लागुऔषधको कुलतमा फसेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।