धरान: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगितामा सुनसरीले महिला र पुरुष दुबैमा स्वर्ण पदक जितेको छ । 

धरान १६ स्थित धरान रंगाशाला कर्भडहलमा शनिबार सम्पन्न प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगिताको फाइनल खेलमा सुनसरीले मोरङलाई ६९-४२ स्कोरले हराउदै स्वर्ण पदक जितेको हो । मोरङले रजत पदकमा चित्त बुझाएको छ । फाइनल खेलको प्रत्येक क्वाटरमा सुनसरीले अग्रता लिएको थियो । खेलको प्रत्येक क्वाटरमा सुनसरी र मोरङले १९-१८, १७-८, १७-११ र १६-५ स्कोर गरेको थियो । खेलमा सुनसरीका हेमन्त राईले ब्यक्तिगत १५ स्कोर गरेका थिए । 

basket1

शनिबार नै काँस्य पदकको लागि इलाम र धनकुटाबीच खेल भएको थियो । उक्त खेलमा धनकुटालाई ५९-४६ अंकको अन्तरले पराजित गर्दै ईलामले काँस्य पदक जितेको छ । खेलमा इलामका रिजन श्रेष्ठले ब्यक्तिगत २४ स्कोर गरे । बिजेता तथा उपबिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी लगायतले मेडल र प्रमाणपत्र बितरण गरेका छन ।

प्रतियोगिता असोज ६ गते देखि ८ गतेसम्म भएको हो । महिलातर्फ पनि सुनसरीले स्वर्ण पदक जितेको छ भने झापाले रजत र मोरङले काँस्य पदक जितेको छ । यो प्रतियोगिताबाट प्रदेश १ बास्केटवल टिम छनौट गरिने छ । छनौट भएका खेलाडीहरुले यहि असोज २८ गते देखि पोखरामा हुने ९ औ राष्ट्रिय प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ । छनौट प्रतियोगिताबाट फुल कोर्टका लागि १२ जना खेलाडी र थ्री वाइ थ्रीको लागि ४ जना खेलाडि छनौट गरिने छन्।