धरान: श्रमदान र जनताबाटै आर्थिक सहयोग जुटाएर मेयर हर्क साम्पाङले भालुखोलाको पानी धरान वडा नं १५ स्थित सेउती पुलमा ल्याउन सफल भएका छन् ।

हिउँदमा पनि नसक्नु मुहान भएको भालुखोलाबाट आएको पानीले वडा नं १५ का जनतालाई राहत पुग्ने अपेक्षा गरिएको छ । भालुखोलाको पानी खसालिने भएपछि मंगलबार दिउँसो सयौं मानिसहरु सेउती पुलमा जम्मा भएका थिए । पाइपबाट पानी आएपछि मेयर साम्पाङसँगै श्रमदानमा खटिएका र हेर्न आएका जनताहरु भिजेर रमाएका थिए । भालुखोलाको स्रोत हिउँदमा पनि नसुक्ने भएपनि वीपी प्रतिष्ठान र उपभोक्ता समितिहरुले धेरै स्रोतकोरुपमा प्रयोग गरिरहेको कारण हिउँदमा थोरै मात्र पानी उपलब्ध हुने बताइएको छ ।

harka-bhalu3

अहिले भालुखोलाको तल्लो मुहान क्षेत्रबाट पानी ल्याइएको हुनाले दिउँदमा बर्षायाममा जतिको पानी हुदैन । तर, मेयर साम्पाङका अनुसार श्रमदानबाट थप गरिएको पानीको स्रोतहरु हिउँदलाई नभएर बर्षायामकै लागि लक्षित हो । उनले भने, 'हामीले जति पनि स्रोत थपेका छौं, त्यो सबै बर्षायामकै लागि हो । बर्षायाममा ७,८ महिना खोलामा पानी बगेर गइरहेको छ, तर हामी जंगलमा पम्प चलाएर पानी वितरण गर्नुपरिरहेको छ । त्यसले महिनामा लाखौं विजुलीको खर्च हुन्छ । त्यो खर्च जोगाउन यी कामहरु गरिएको हो ।' 

harka-bhalu

मेयर साम्पाङका अनुसार भालुखोलाको पानी रिजर्ब गर्न हर्क साम्पाङ सपोर्ट कमिटी युकेले १ लाख लिटर क्षमताको पानीट्यांकी बनाइदिने भएको छ । यसको लागि खत्रीधारा दाहसंस्कार उत्तर र दक्षिणतर्फको खाली जग्गा स्थलगतरुपमा प्राविधिकहरुले हेरिसकेका छन् । मेयर साम्पाङकै योजना अनुसार यसअघि पकुवा खोला र सर्दु,खर्दु, निशाने खोलाबाट पनि पानी ल्याएर वितरण भइरहेको छ । अब भने दीर्घकालिन खानेपानी समाधानको लागि सप्तकोशीबाट पानी ल्याउन आफु केन्द्रीत हुने मेयर साम्पाङले बताए । खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले अब चाडै नै पुरानो संरचनामा पानी जोडेर वितरण गर्ने बताए । यसले वडा नं १५ लाई धेरै राहत मिल्ने पनि उनको भनाई छ ।

भिडियो: