धरान: महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको भन्दै धरान १४ की शान्ता खड्कालाई कानुनी कारबाहीको माग गर्दै सञ्जालले प्रहरीमा निवेदन दिएको छ । 

महिला सञ्जाल धरानले शुक्रबार ईलाका प्रहरी कार्यालय धरानमा खड्काविरुद्ध निवेदन दिएको हो । सञ्जालकी अध्यक्ष सपना राईले दिएको निवेदनमा धरान १७ की रविना चौधरीको मृत्यु भएको घटनामा थुनामा रहेको उनको श्रीमानलाई मुद्दा मिलाइदिने भन्दै खड्काले बर्गेनिङ गरेको कुरा मृतकका आफन्तहरुले मिडियामार्फत सार्वजनिक गरेको उल्लेख गरेकी छिन् । आरोपित खड्काले पटक पटक महिला सञ्जालको नाममा सर्वसाधारणहरुलाई ठगी गर्दै आएको र अपराधिक कार्य बढ्दै गएकोले अनुसन्धान गरि कानुन वमोजिम कारबाही गर्न र भविष्यमा यस्तो अपराध हुन नपाउने व्यवस्था गर्न पनि महिला सञ्जालले माग गरेको छ ।

प्रहरीमा निवेदन दिनुअघि महिला सञ्जालले पत्रकार सम्मेलन गर्दै शान्ता खड्का महिला सञ्जालमा आवद्ध नरहेको जानकारी दिएको थियो । तर, केही समयदेखि सञ्जालको नाम लिएर केही व्यक्तिहरु निरन्तर वदनाम गर्ने काम गरिरहेको भन्दै सञ्जालले आपत्ति र निन्दासमेत गरेको छ । ‘कानुन विपरीत कुनै पनि कार्यहरुमा महिला सञ्जाल हिजो पनि समावेश थिएन, आज पनि छैन, र हुने छैन,’अध्यक्ष सपना राईले भनिन् ।

mahila-sanjal1

धरान १७ मा केही दिनअघि मात्र मृत्यु भएकी रविना चौधरीलाई जर्बजस्ती करणी मुद्दामा थुनामा रहेका श्रीमानको मुद्दा मिलाइदिन्छु भनेर महिला सञ्जालकी शान्ता खड्काले बार्गेनिङ गरेको मृतकका आफन्तहरुले एक युट्युबमार्फत सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, पत्रकार सम्मेलनमा महिला सञ्जालले खड्का महिला सञ्जालको सदस्य पनि नभएको प्रष्ट पारेको छ ।

विगतमा पनि खड्काले सञ्जालको नाम लिएर आर्थिक लेनदेन गरेको थाह पाएपछि प्रहरी कार्यालयमा बोलाएर आइन्दा नगर्ने सर्तमा छोडिएको पनि सञ्जालकी अध्यक्ष राईले बताइन् । ‘हामीले त्यति बेला नै कानुनी कारबाहीमा जाने भनेका थियौं, तर वलियो प्रमाण थिएन, र प्रहरी कार्यालयमा छलफलमा बोलाएर अबदेखि त्यसो नगर्ने भनेर छोडेका थियौं,’अध्यक्ष राईले भनिन्,‘तर यसपाली त मृतकका आफन्तले नै उसको नाम लिएर बार्गेनिङ गरेको भनेर बोलेको प्रमाण छ, त्यसैले कानुनी कारबाहीमा जान्छौं ।’

mahila-sanjal

सञ्जालले आफ्ना पदाधिकारी तथा सदस्यहरुको उपस्थित बिना सञ्जालको नाम लिएर कुनै पनि व्यक्ति तथा संस्थाले त्यस्तो कार्य गरे जवाफदेही नहुने पनि प्रष्ट्याएको छ । साथै, त्यस्तो कार्य गरेमा जो कोहीविरुद्ध पनि सञ्जाल कानुनी उपचारको लागि अघि बढ्ने पनि सञ्जालले जनाएको छ । सञ्जालकी सचिव इन्द्रकला राईले प्रहरीलाई पनि दिनु पर्छ भन्दै बार्गेनिङ गर्ने गरेको जानकारी प्राप्त भएकोले त्यस्ता गलत व्यक्तिविरुद्ध कारबाही गर्ने र निरुत्साहित गर्ने चुनौती प्रहरीलाई पनि भएको बताइन् । उनले भनिन्,‘प्रहरीले पनि यस्तो गलत कार्य हुन नदिन कानुनी कारबाही गर्नुपर्ने चुनौती छ । यस्तो प्रवृत्तिलाई निमिट्यान्न पार्नुपर्छ ।’

भिडियो:

खड्का विभिन्न घटनामा विवादमा पर्दै आएकी छिन् । मृतक चौधरीका आफन्तजनका अनुसार आरोपित खड्का र गंगा राईले महिला सञ्जालको नाम लिएर पैसा बार्गेनिङ गरेका थिए । ‘गंगाले वयान वदलिदिन्छ’ भन्दै खड्काले साढे ३ लाख बार्गेनिङ गरेको आरोप मृतकका आफन्तहरुले बताएका छन् । खड्काले बारम्बार बार्गेनिङ गरेपछि मानसिक तनावले मृत्यु भएको भन्दै आफन्तजनहरुले पनि खड्काविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिइसकेका छन् । मृतकका श्रीमानलाई खड्काकै समुहले बलात्कार आरोप लगाएर थुनामा पठाएको बताइएको छ ।

mahila3