धरान: कुटपिट गरि घाइते भएकी धरान १३ की एकल महिला उषा राईको उपचारको क्रममा मृत्यु भएको घटनामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ भने एक जना धरौटीमा छुटेका छन् ।

न्यायाधिश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश गरेको हो । अदालतले हिजो (बुधबार) दिएको आदेशमा अर्का आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छोड्न भनिएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले अदालतको आदेश वमोजिम ३ जनालाई कोभिड परीक्षणको रिपोर्ट आएपछि आज झुम्का कारागारमा पठाउने तयारी भइरहेको जानकारी दिए ।

यो घटनामा आरोपित अझै ३ जना भने फरार छन् । फरार रहेकाहरुमा निरकुमारी गुरुङ, सृर्जना राई र मिना राई रहेका छन् । उनीहरुमध्ये जाहेरीमा उल्लेख गरिएकी मिना राई को हुन् भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । 

मुख्य आरोपी उर्मिलाले आफ्नो श्रीमान्सँग नजिकिएको आशंकामा आफन्त र छरछिमेकी महिलाहरुसहित पुगेर मृतक उषा राईलाई कार्तिक ३ गते कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी उर्मिलाको उपचार पश्चात डिस्चार्ज भएपछि उपचार खर्च दिएर मिलापत्रसमेत भएको थियो । तर, मंसिर दोस्रो साता स्वास्थ्य बिग्रिएर पुनः उपचारको लागि वीपी प्रतिष्ठान लगिएकी उषाको मृत्यु भएपछि उनको भाई सुन्दर राईले किटानी जाहेरी दिएका थिए ।