धरान: बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा गएका एक व्यक्तिको परिवारसँग मुद्दा मिलाइदिने भन्दै बागर्नेनि गर्ने शान्ता खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पक्राउ पुर्जी आएको सुइको पाएपछि खड्का फरार भएकी छिन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । आफुलाई महिला अधिकारकर्मी भन्दै धरान १४ मा बस्ने खड्काले विभिन्न घटना मिलाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको आरोप लाग्दै आएको थियो । उनले महिला सञ्जालको नाम लिएर पीडित महिलालाई न्याय दिलाउने नाममा पीडक पक्षसँग पैसाको बार्गेनिङ गर्ने गरेको प्रमाणहरु पछिल्लो समय सार्वजनिक भएको थियो ।

धरान १७ मा बस्दै आएका एक व्यक्ति खड्काको समेत संलग्नतामा बलात्कार आरोपमा थुनामा छन् । उनलाई थुनामुक्त गराउन साक्षी बसेकालाई वयान फेर्न लगाउने भन्दै ती व्यक्तिको श्रीमतिसँग खड्काले १० लाख बार्गेनिङ गरेका थिइन् । पछि साढे ३ लाख मागेर दैनिक जसो फोन गर्ने गरेका थिइन् । सोही क्रममा ती महिलाको मृत्यु भएपछि उनको आफन्तजनले खड्काविरुद्ध प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएको थियो ।

खड्काले आफु महिला सञ्जालको भन्दै बार्गेनिङ गरेको थाह पाएपछि महिला सञ्जाल धरानले पनि कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएको थियो । सञ्जालको सदस्यसमेत नभएपनि खड्काले विगतमा पनि सञ्जालको नाम लिएर बार्गेनिङ गरेको थाह पाएपछि प्रहरी कार्यालयमा झिकाएर आइन्दा त्यसो नगर्ने सर्तमा छोडेको थियो । 

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले खड्काविरुद्ध ठगी मुद्दा दर्ता भएको र पक्राउ पुर्जी आइसकेको जानकारी दिए । ‘कसैलाई मिलाइदिन्छु भनेर बार्गेनिङ गरेको छ, त्यो ठगी नै हो,’उनले भने,‘अहिले फरार भएको छ । जहाँ पुगेपनि पक्राउ पुर्जी आइसकेकोले जहाँ भेटेपनि पक्राउ हुन्छ ।’