धरान: आगलागी भएर विचल्ली भएको धरान ५ देवी मार्गस्थित एक परिवारलाई स्वतन्त्र नागरिक समाज धरानले सहयोग गरेको छ । 

वडा ४ का अध्यक्ष धनबहादुर कुलुङ, वडा ५ की सदस्य सुनिता राईसहित मेयर साम्पाङले स्थलगत अनुगमन गरेपछि पीडित परिवारलाई तत्काल सहयोग गर्न आग्रह गरेका थिए । उनको आग्रह पछि नागरिक समाजको टोली पीडित परिवारलाई भेट गरेर आवश्यकताबारे जानकारी लिएको छ । पीडित परिवारको आवश्यकता बुझेर ओढ्ने ओछ्याउने, लत्ताकपडा, खाद्यान्न, भाडाकुडालगायत सामानहरु राहत स्वरुप वितरण गरिएको हस्तराज लिम्बुले जानकारी दिए । ‘बिहान मेयर साबले फोन गरेर दुःखद घटना भयो, तत्काल के सहयोग गर्न सकिन्छ भनेर भन्नु भयो, र यहाँ आएर बुझ्यौं । अवश्यक पर्ने सामानहरु दिएका छौं,’उनले भने ।

agalagi1 1

समाजले नै रेडक्रस सोसाइटी सुनसरीबाट पनि त्रिपाल, भाँडाकुडालगायत सामाग्रीहरु सहयोग प्राप्त भएको हस्तराज लिम्बुले जानकारी दिए । समाजका अध्यक्ष दत्तकुमार लिम्बुका अनुसार करिब १६ हजार ५ सय रुपैया बराबरको राहत सामग्री वितरण गरिएको छ । शनिबार सार्वजनिक विदा पनि भएकोले मेयर साम्पाङले तत्काल राहत उपलब्ध गराउन आग्रह गरेपछि वितरण गरिएको उनले बताए । ‘यो दुःखद घडी सबैलाई आइलाग्छ, यस्तो बेलामा सबैले एक आपसमा सहयोग गर्ने भावना राख्नुपर्छ,’लिम्बुले भने,‘पीडित परिवारलाई सबैले नै सहयोग गरौं ।’

agalagi2 1

शुक्रबार बेलुकी करिब ६ बजे विद्युत सर्ट भई राजमाया राईको घरमा आगलागी भएको थियो । आगलागीबाट काठको घर जलेर पुर्णरुपमा नष्ट भएको थियो भने घरभित्र रहेको गरगहना, नगद, लत्ताकपडा, सामानहरु पनि सबै क्षति पुगेको थियो । घर जलेर पुर्णरुपमा क्षति पुगेपछि सात जनाको पीडित परिवार विचल्ली भएको छ । परिवारको केही सदस्य आफन्तको घरमा आश्रय लिएका छन् भने केहीले गोठमा रात बिताएका थिए । पीडित परिवारका अनुसार ३० देखि ३५ लाखको क्षति भएको छ । घर बनाउन राखेको काठ, धनीपुर्जा, नागरिकता, कपडा सबै जलेको थियो । 

भिडियो: