धरानः ९ औं युनाइटेड गोर्खा एकेडेमी (युजिए) अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगितामा छात्रतर्फको उपाधि धरान १३ स्थित नेपाल पुलिस स्कुलले जितेको छ । छात्रातर्फको उपाधि भने आयोजक युनाइटेड गोर्खा एकेडेमीले आफैसँग सुरक्षित राखेको छ । 

धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शुक्रबार फाइनल भएको थियो । फाइनल खेलमा छात्रतर्फ पुलिस स्कुलले र तरहरास्थित ज्ञानदर्पण एकेडेमीलाई हराउदै उपाधि उचालेको हो । पुलिसले ज्ञानदर्पणलाई २५–१४, २५–१५ र २५–१४ को सेटमा हरायो । यस्तै, छात्रातर्फ आयोजक युनाइटेड बीले हाम्रो बोर्डिङ स्कुल इटहरीलाई पराजित गर्दै च्याम्पियन भएको हो । छात्रातर्फ आयोजकले हाम्रो बोर्डिङलाई २४–२६, २१–२५, २१–१७, २५–१३ र १५–१३ सेटले हरायो । 

vally1

छात्रछात्रा दुवैतर्फका बिजेताले २३ हजार रुपैयाा, मेडल साथै प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपबिजेताले १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारेको छ भने तेस्रो हुनेलाई १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । छात्रछात्रा दुवैतर्फ वेष्ट सर्भिस, वेष्ट डिफेन्स, वेष्ट लिफ्टर, वेष्ट स्पिकर, वेष्ट ब्लकर, वेष्ट प्लेयरलाई १२ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी दिइएको थियो । छात्रछात्रा तुवैतर्फ अनुशासित टिमलाई ५ हजार नगद र प्रमाणपत्र साथै उत्कृष्ट टिम प्रशिक्षकलाई १५ सय रुपैयाँ प्रदान गरिएको प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए । यसपटक प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १४ गरी १९ विद्यालयका विद्यार्थीको टिमले सहभागिता जनाएका थिए।

vally2

बिजेता, उपविजेता र तेस्रो हुने टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघ प्रदेश १ का अध्यक्ष खेम राई, युनाइटेड एकेडेमीका प्रिन्सिपल पेम्बा शेर्पा, एनप्याब्सन धरान नगर कमिटी अध्यक्ष विष्णु प्रधान, पुलिस स्कुलका प्रिन्सिपल डिकेन्द्र रायमाझी, हाम्रो बार्डिङ तेज निरौला, कामना बैंकका शाखा प्रमुख राम साम्पाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद राई, युनाइटेड गोर्खा एकेडेमीका खेल प्रशिक्षक तुलाराम राई, मारुती इम्पोरियम धरानका प्रोप्राइटर ललितकुमार अग्रवाललगायतले पुरस्कार, प्रमाणपत्र र मेडल वितरण गरेका थिए । युनाइटेड गोर्खा एकेडेमीको मैदानमा आयोजित प्रतियोगिता वर्षेनी हुदै आएको छ ।