धरान: २३ औं टुबोर्ग गोधुली रनिङ कपमा धरानको वडा नं १५ फाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा वडा नं ५ लाई २–० गोलअन्तरले हराउदै वडा १५ फाइनल प्रवेश गरेको हो । वडा नं १५ का खेलाडी सुगम जिमी र अनिश राईले गोल गरेका थिए । सुगमले पहिलो हाफको ३६ औं मिनेटमा गोलको खाता खोलेका थिए भने अनिशले दोस्रो हाफको ३१ औं मिनेटमा गोल गरेका थिए । वडा नं १५ गोधुलीमा १४ औं सँस्करण विजेता हो ।

खेलको म्यान अफ दि म्याच वडा नं १५ का चन्दन मगर घोषित हुँदै नगद २ हजार ५ सय हात पारे । प्रतियोगितामा भोली (बिहिबार) को दोस्रो तथा अन्तिम सेमीफाइनल खेल वडा नं १६ र १७ बीच हुने आयोजकले जनाएको छ । उक्त खेलको विजेताले माघ १४ गते हुने फाइनलमा उपाधिको लागि वडा १५ को सामना गर्नेछ । विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार हात पार्नेछ ।