धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इर्मजेन्सीमा विरामीका कुरुवाहरुलाई ५ सय धरौटी राखेर पासको व्यवस्था गरेपनि विपन्न विरामीलाई भने निःशुल्क पाउ उपलब्ध गराउने जनाएको छ । 

प्रतिष्ठानकी प्रवक्ता डा.अञ्जु प्रधानका अनुसार विरामी कुरुवालाई ५ सय धरौटीको व्यवस्था गरिए पनि आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पनि पास दिने व्यवस्था गरिएको छ । पासको व्यवस्था गर्दा संवेदनशील इर्मजेन्सी कक्षमा अनावश्यक भिडभाड कम भएको र चिकित्सक, नर्सहरुले सहजरुपमा विरामीलाई उपचार सेवा गर्ने वातावरण बनेको पनि बताइन् । ‘कुरुवा परिवर्तन गर्नुपर्ने भए पास दिएर अर्कोलाई विरामीसँग पठाउन सकिन्छ । आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पनि पास दिने व्यवस्था गरिएको छ,’प्रवक्ता डा.प्रधानले भनिन् ।

प्रतिष्ठानको इर्मजेन्सीमा दैनिक २ सय भन्दा बढी विरामीहरु आउने गरेका छन् । विरामी लिएर आउने आफन्तजन तथा छरछिमेकहरु इर्मजेन्सीभित्र विरामीसँगै बसिदिदा अत्यधिक भिडभाड हुँदा सहजरुपमा प्रभावकारी उपचार सेवा प्रदान गर्न नसकिने भएकोले कुरुवा पासको व्यवस्था गरिएको प्रतिष्ठानको भनाई छ । यो व्यवस्थाले बिरामीहरुलाई अन्य मानिसबाट हुन सक्ने संक्रमणको जोखिमलाई पनि न्युनीकरण गर्ने प्रवक्ता डा.प्रधानले बताइन् । उनका अनुसार बिरामीको अवस्था अनुसार एक जना भन्दा बढि कुरुवा बस्नु पर्ने भए इमर्जेन्सीमा कार्यरत चिकित्सकको सिफारिशमा थप कुरुवा पास उपलब्ध गराइनेछ ।

Emergency2

यद्यपी, सामाजिक सञ्जालमा भने प्रतिष्ठानले कुरुवा पास लिन ५ सय रुपैया धरौटी राख्नुपर्ने नियमको आलोचना पनि भइरहेको छ । गम्भीर प्रकृतिको विरामीलाई एक जनाले मात्र सम्हाल्न नसकिने अवस्थामा र निम्न आर्थिक अवस्थाका विरामीको लागी यो नियम उचित नभएको भन्दै सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसादका अनुसार माघ १५ गतेदेखि यो नियम लागु गरिएको छ । विरामीको नाम दर्ता गर्दा नै ५ सय रुपैया धरौटी वापत रकम लिएर कुरुवा पास उपलब्ध गराइने उनले बताए । एक जना विरामीको लागी एक मात्र कुरुवा पास उपलब्ध हुने र विरामी डिस्चार्ज वा वार्डमा स्थानान्तरण भएपछि कार्ड नम्बरको कुरुवा पास फिर्ता भए धरौटी पनि फिर्ता हुने अस्पताल निर्देशक डा.जगत नारायणले जानकारी दिए ।