धरान: धरान १६ मा भाडामा बसेको मालपोत र नापी कार्यालयलाई वडा नं ६ स्थित पानवारीमा नसार्न माग गर्दे खबरदारी सभा आयोजना गरिएको छ । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चको जिल्ला तथा नगर कार्यसमितिको आयोजनामा खबरदारीसभा भएको हो । धरान १६ स्थित मालपोत र नापी कार्यालय अघि आयोजित खबरदारीसभाका वक्ताहरुले वडा नं ६ मा सारिदा असुरक्षित हुने तर्क गरे । साथै, तत्कालिन मालपोत र नापीका प्रमुखले जग्गा लिएर केही जग्गा व्यापारीलाई फाइदा हुने गरि पानवारीमा कार्यालय सार्ने निर्णय गरेको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताए ।

मालपोत र नापी कार्यालयको भवन पानवारीमा बनिसकेको छ । स्थानीयले जग्गा उपलब्ध गराउने भएपछि दुवै कार्यालयको भवन त्यहाँ बनाउने निर्णय गरिएको थियो । उक्त निर्णय गराउदा तत्कालिन मालपोत प्रमुख र नापी कार्यालयका प्रमुखले जग्गा पाएको पनि आन्दोलनरत पक्षले आरोप लगाउदै आएका छन् । वडा नं १६ बाट दुवै कार्यालय सार्नं नहुने माग गर्दै आन्दोलन भइरहदा उता वडा नं ६ का बासिन्दाहरुले भने भवन निर्माण सम्पन्न भइसकेको कारण कार्यालय तत्काल सार्नुपर्ने माग गर्दै आएका छन् ।

बुधबार उपमहानगरपालिका परिसरमा आयोजित एक कार्यक्रममा वडा ६ का अध्यक्ष भुपेन्द्र भट्टराईले पनि यो बिषय उठाएका थिए । उनको जवाफ दिदै मेयर हर्क साम्पाङले भवन बनिसकेको भए कार्यालय सार्नुपर्ने धारणा राखे । 

भिडियो: