धरान: धरानको बजार क्षेत्रमा यातायात व्यवस्थापन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । 

गत पुष २५ गते वडा नं २ का अध्यक्ष रमेश राईको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार नगर प्रमुख हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको हो । कार्यदललाई १० दिनको समय दिएपनि एक महिना समय लगाएर मात्र प्रतिवेदन बुझाएको हो । यद्यपी, कार्यदलका सदस्य रहेका सुनसरी यातायात प्रालिका प्रतिनिधिले भने कार्यदलभित्रै पुर्ण सहमति नभै प्रतिवेदन आएको भन्दै असन्तुष्टी जनाएका थिए । संयोजक तथा वडाअध्यक्ष राईले भने सम्बन्धित व्यवसायी र सरोकारवालाहरुसँग पटक पटक छलफल गरेर नै प्रतिवेदन तयार गरी बुझाएको बताएका थिए । असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याइएको उनले जिकिर गरेका थिए । 

yatayat-report1

प्रतिवेदन बुझाएपछि कार्यदल तथा सरोकारवालाहरुसहितको बैठकले प्रतिवेदनलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको छ । पहिलो चरणमा लक्ष्मीचोकदेखि भानुचोकसम्म वान वे (एकतर्फी) गर्ने निर्णय गरिएको छ । तत्काल वान वे गर्न माघ २९ गते सुचना प्रकाशन गर्ने र फागुन ८ गते सोमबारदेखि कार्यान्वयन गर्ने निर्णय भएको कार्यदलका सदस्य सचिव वेदप्रसाद सापकोटाले बताए । लक्ष्मीचोकदेखि भानुचोकसम्म हाल ठुला तथा मझौला सवारीसाधनहरुलाई मात्र वान वे गरिएको छ । तर अब भने सम्पुर्ण सार्वजनिक सवारीसाधानहरुलाई वान वे गर्ने निर्णय भएको हो । लक्ष्मीचोकबाट भानचोक आउने सवारीसाधनहरु पृथ्वीचोक, माछाभौडी हुदै भानुचोकतर्फ आउनुपर्नेछ । 

yatayat-report2

यसैगरि, पहिलो चरणमा नै घण्टाघर दक्षिणका सिटी सफारीहरुलाई पनि स्थानान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै, ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामग्रीहरु पनि उपमहानगरपालिकाले उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । मेयर साम्पाङले धरानको मुख्य बजार क्षेत्र र सडक अस्तब्यस्त भएकोले व्यवस्थापन गर्न कार्यदलको सुझावलाई क्रमशः कार्यान्वयन गर्दे लैजाने बताए । बैठकमा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी श्यामकुमार महतो, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडामणी भट्टराई, सशस्त्र प्रहरी, ईलाका प्रहरी, कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरु पनि सहभागी थिए । 

भिडियो: