धरान: दुई बर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ट गोल्डकपको २३ औं सँस्करण यही फागुन १३ गतेदेखि हुने भएको छ । 

धरान फुटबल क्लबले आइतबार होटल पुर्वी स्टरमा पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । कोभिड महामारीको कारण भएको आर्थिक संकटले गर्दा विगत २ बर्ष प्रतियोगिता हुन नसकेको पनि क्लबले जनाएको छ । २०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण पहिलो पटक लगातार २ बर्ष रोकिएको हो । 

यसपाली भने प्रतियोगिता भव्यरुपमा आयोजना गर्ने क्लबका अध्यक्ष किशोर राईले बताए । उनले यसपाली मुनाफा हुने गरि प्रतियोगिता गर्ने रणनीति तयार गरेको पनि जानकारी दिए । प्रतियोगिताको लागी बजेट रकमान्तर गरेर ३ लाख थप गरेको र मेयर कोषबाट थप ३ लाख दिने प्रतिवद्धता जनाएको भन्दै उनले मेयर हर्क साम्पाङसहित कार्यपालिका सदस्य, वडाअध्यक्षहरुलाई पनि धन्यवाद दिए । वडा कार्यालयहरुबाट पनि बजेट प्राप्त हुने उनले जानकारी दिए ।

पत्रकारहरुले पारदर्शिताको कुरा जहिल्यै उठ्ने गरेको साथै नेतृत्व असफल भएको हो कि भन्ने प्रश्न गर्दा एन्फा प्रदेश १ अध्यक्षसमेत रहेका क्लबका अध्यक्ष राई रिसाएका पनि थिए । उनले आफु १२ बर्षको उमेरदेखि नै फुटबल खेल्न थालेको र फुटबलप्रतिको मायाकै कारण पनि क्लब र खेलकुद छोड्न नसकेको बताए । त्यसबाहेक कुनै स्वार्थ नभएको भन्दै उनले अनियमितता गरेको भए प्रमाण देखाउन पनि चुनौती दिएका थिए । फुटबलको विकासको लागी राज्यले नै लगानी गर्नुपर्ने पनि उनले बताए । 

भिडियो:

प्रतियोगिताको संयोजक धरान उपमहानगरपालिका रहेको छ भने मुख्य प्रायोजक टुबोर्ग वियर रहेको महासचिव प्रताप तामाङले जानकारी दिए । साथै, सहप्रयोजकहरुमा सोमरर्सवे, नेको इन्सोरेन्स, राष्ट्रिय वाणिज्य, एनि स्पोर्टस् ब्राण्ड, आइएमई, सुनसरी टेक्निकल कलेज, डाइनामिक फुड्स र अन्नपुर्ण सिमेन्ट रहेको पनि उनले बताए । 

प्रतियोगितामा ८ क्लब सहभागी हुने

प्रतियोगितामा वंगलादेश, क्यामरुनसहितको ८ वटा क्लबहरु सहभागीता जनाउने भएको छ । क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीका अनुसार केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब सहभागी रहनेछ । 

आय १ करोड बढी, व्यय ८५ लाख

budhasubba goldcup 23

प्रतियोगिताको लागी यसपाली विभिन्न निकाय, संघसंस्था तथा दाताहरुबाटसमेत गरेर १ करोड ९ लाख ५० हजार आय हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष बुढाथोकीले जानकारी दिए । त्यसमध्ये ८५ लाख ५ हजार खर्च हुने अनुमान गरिएको उनले बताए । 

विजेतालाई १० लाख, उत्कृष्ट खेलाडीलाई १ लाख नगद

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । साथै, यसपाली उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइनेछ । विगतमा भने मोटरसाइकल दिदै आएको थियो ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने पनि क्लबले जनाएको छ ।