धरान: सोमबारदेखि धरानमा लागु गरिएको वान वे (एकतर्फी प्रणाली)ले मारमा परेको भन्दै टेम्पो र सफारी चालकहरुले बुधबार मेयर हर्क साम्पाङलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । 

सफारीसहित उपमहानगरपालिकामा पुगेका चालकहरुले मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले एकतर्फी गरिदा सडकमा सहज भएपनि केही टेम्पो र सफारीका संघहरुले मात्र भानुचोक आसपासमा दिइएको स्टेण्ड कब्जा जमाएको भन्दै विरोध जनाएका छन् । हाल घण्टाघर र साधना भवनको बीचको सडकमा एउटा मात्र संघमा आवद्ध सफारीहरुले कब्जा जमाएकोले स्वतन्त्ररुपमा गरिखाने सफारीहरुले कही पनि स्टेण्ड नपाएको गुनासो उनीहरुले गरे । साथै, एकतर्फी सडकमा यात्रु ओराल्नको लागी एकछिन पनि रोक्न नदिएको, यात्रुलाई चढाउन रोक्दा पनि ट्राफिक र संघमा आवद्ध अन्य टेम्पो, सफारी चालकहरुले गालीगलौज गर्ने गरेको गुनासो पनि पोखे ।

city-safari

उनीहरुलाई भानुचोकमा रहेको स्टेण्डलाई डायल सिस्टम लागु गरेर सबै संघहरुलाई एक एक दिन पालो दिन पनि मेयर साम्पाङलाई आग्रह गरेका छन् । मेयर साम्पाङले कसैलाई मारमा पार्न वान वे नगरिएको जिकिर गर्दै पहिला जे थियो, त्यै ठिक हो नभन्न आग्रह गरे । साथै उनले कुनै एक संघले मात्र स्टेण्ड कब्जा गर्न नपाउने भन्दै त्यसको व्यवस्थापन गर्ने पनि बताए । भानुचोक क्षेत्रको अस्तब्यस्ततालाई सुधार गर्न प्रारम्भ गरिएको भन्दै उनले सबैले सहयोग गर्न आग्रह पनि गरे । अब विगतको जस्तो अराजकता चल्न नदिने पनि उनले बताए । 

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले वान वे राम्रो भएको भन्दै धरानलाई राम्रो बनाउन योगदान गर्न सफारी चालकहरुलाई आग्रह गरे । उनले लाइसेन्स लिएर मात्र चलाउन आग्रह गर्दै यात्रुहरुलाई तान्ने काम नगर्न पनि सुझाव दिए । साथै, डायल प्रणालीबाट संयुक्तरुपमा चल्न पनि आग्रह गरे । प्रहरीबाट कमजोरी वा गल्ती भएमा खबर गर्न आग्रह गर्दै दुव्र्यवहार गरेको भए कारबाही गर्ने पनि बताए ।

भिडियो: