धरान: काकाकुल धरानबासीको प्यास मेटाउन मेयरमा निवार्चित भएदेखि नै मेयर हर्क साम्पाङ निरन्तर खोलाहरुमा धाइरहेका छन् ।

उनले खानेपानी ल्याउन शुरु गरेको श्रम अभियानले देश विदेशमा चर्चा मात्र पाएको छैन, अहिले खानेपानीमा विगतको भन्दा केही राहत पनि दिलाएको छ । यद्यपी, अब खडेरी शुरु भएको र खोलाहरु सुक्न थालेकोले खानेपानी अभावको पुरानै कथा दोहोरिने चिन्ता सबैलाई छ । सुक्खा मौषममासाविक धरान (१९ वटा वडा) भएको सहरी क्षेत्रमा खानेपानी अभाव हुने चिन्ता स्वभाविक पनि छ । 

सहरी क्षेत्रमा पिउने पानीको अभाव भइरहदा धरानकै वडा नं २० स्थित हात्तिसार क्षेत्रमा कोकाह खोलामा भने अहिले पनि पानी बगेर खेर गइरहेको छ । विष्णुपाउ मन्दिर शिरानमा मुहान भएको कोकाह खोला बीचमा आएर पानी बग्न छोड्छ । तर, भञ्ज्याङदेखि पश्चिम हात्तिसार क्षेत्रमा पुगेपछि भने पानी उम्रिन थाल्छ । त्यहाँबाट उम्रिएको पानीले खोलाको रुप लिएर बगिरहेको छ ।

kokaha2

यही बगेर खेर गइरहेको कोकाहको सोही पानीलाई पाइपमार्फत सुम्निमा सिस्टममा जोड्ने गरि श्रमअभियान मेयर हर्क साम्पाङले उद्घाटन गरेका छन् । पाइप बोकेर इन्टेक हुने ठाउँसम्म पुगेका मेयर साम्पाङले सिमेभुमे पुजा गरेर खोलामा पाइप जोडेका थिए । उक्त ठाउँबाट धरानसम्म करिब २५ किलोमिटर पाइप आवश्यक पर्छ । यसको लागी ३ करोड हाराहारीमा पाइपमा बजेट आवश्यक पर्ने अनुमान गरिएको पनि मेयर साम्पाङले बताए । उक्त बजेट व्यवस्थापन गर्न कलाकारहरुलाई निःशुल्क सांगीतिक कार्यक्रम गर्न पनि मेयर साम्पाङले आह्वान गरेका छन् भने देशविदेशबाट सहयोगको पनि उनले अपिल गरेका छन् । कोकाहको पानी धरान पुर्याउदा धेरै राहत मिल्ने भएपनि पुर्णसमाधान भने नभएको पनि मेयर साम्पाङले बताए । दीर्घकालिन समाधानको लागी भने कोशीको पानी नै ल्याउनुपर्ने पनि उनले बताए ।

वडा नं २० का वडाअध्यक्ष पदम लिम्बुका अनुसार यो खोलामा अब चैत, बैशाख, जेठमा पनि पानी सुक्दैन । जनसंख्या बढ्दै जाँदा पनि वडा २० लाई पनि आवश्यक पर्दा सोही पानी उपभोग गर्ने उनले बताए । उनी पनि मेयर र श्रमदाताहरुसँगै पाइप बोकेर इन्टेक निर्माणस्थलसम्म पुगेका थिए । 

kokaha3

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले ग्राभिटी फ्लोमा नै सहरसम्म कोकाहको पानी ल्याउने योजना शुरु भएको बताए । उक्त पानी ल्याउन सकेमा माघ, फागुन, चैत, बैशाखमा उपभोक्तालाई आनन्दले सेवा दिन सकिने र धरानको समस्या तत्कालको लागी समाधान हुने उनले बताए । मेयरमा निवार्चित भएपछि यसअघि मेयर साम्पाङले पकुवा खोलाबाट पहिलो श्रमअभियान चलाएर पानी ल्याएका थिए भने त्यसपछि सर्दु, खर्दु र निशानेको पानी संकलन गर्न सहयोगमार्फत ट्यांकी पनि बनाएका छन् । त्यहाँबाट पाइपमार्फत स्वास्तिका चोकको ट्यांकीमा पानी जोडेर वितरण भइरहेको छ । भालुखोलाको पानी ल्याएर वडा १५ लाई वितरण गरिएको थियो भने अहिले १ लाख लिटर क्षमताको पानीट्यांकी सेउती बगरमा निर्माण भइरहेको छ ।

भिडियो:

भिडियो: