धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा.विकास साहले दुबईमा आयोजित वर्ल्ड पुलिस समिट २०२३ मा अवार्ड पाएका छन् । 

उनलाई आफ्नो चिकित्सकीय पेशामार्फत सामाजमा पुर्याएको योगदानको मुल्यांकन गर्दै गुड सामरिटन अवार्ड दिइएको हो । यो अवार्डको लागी ३ जना अन्तिम सुचीमा छनौट भएका थिए । यो अवार्डमा डा.साहसँगै युएईमा रहेको अलिविया एजेन्सीका टम काउलेस र युके तथा उत्तरी आयरल्याण्डमा रहेको ओपिस कर्पोरेसन लिमिटेडका केभिन माइकल साउण्डर्स पनि अन्तिम ३ को सुचीमा छानिएका थिए । तीन जनामध्ये नेपालका डा.साहको काम उत्कृष्ट ठहरिदै अवार्ड जित्न सफल भएका हुन् ।

डा.साहलाई दुबई पुलिसका कमाण्डर इन चिफ लेफिटनेन्ट जनरल अब्दुल्ला खलिफा अलमारीले अवार्ड प्रदान गरेका थिए । डा.साहलाई बिहिबार दुबईमा आयोजित कार्यक्रममा अवार्ड दिइएको थियो । अवार्डको लागी कोरोनाको बेला पुर्याएको योगदान, लैंगिक हिंसा पीडितहरुलाई गरेको सहयोग तथा हिंसाविरुद्ध गरेको अभियानसँगै समाज सुधारको लागी उनले गरेका सोधहरुको मुल्यांकन गरिए पनि अंग प्रत्यारोपण सम्बन्धी प्रकाशन गरेको कृतिहरुलाई नै मुख्य आधार बनाएर अवार्ड प्रदान गरेको डा.साहले जानकारी दिए । 

bikash1

यो अवार्डको लागी सात वटा क्याटोगरी छुट्याएर विश्वभरिबाट अनलाइन आवेदन माग गरिएको थियो । पहिलो चरणमा दुबई पुलिसले गाइडलाइन अनुसार आएका आवेदनहरुलाई मात्र जुरी मुल्यांकनको लागी पठाइएको थियो । जुरीका हरेक सदस्य (जज)ले आवेदनहरुलाई बेग्ला बेग्लै मुल्यांकन गरेर अंक दिएपछि हरेक क्याटोगरीका ७ जनालाई चुनेर पुलिस समिटिले आमन्त्रण गर्ने गरेको छ । समिटले आफ्नै खर्चमा बोलाएर अन्तिम दिन मात्र अवार्ड विजेताको नाम घोषणा गरिन्छ । 

यसपाली वर्ल्ड पुलिस समिट २०२३ दुबईले आयोजना गरेको थियो । उक्त समिटमा विश्वभरबाट अपराध न्युनीकरणमा योगदान गर्ने प्रहरी, डाक्टरहरु सहभागी थिए । समिटमा अपराध नियन्त्रणमा आवश्यक पर्ने नयाँ प्रविधिहरुको प्रर्दशनी भएको थियो भने सय भन्दा बढी विभिन्न क्षेत्रका विज्ञहरुले आफ्नो अनुभव बाँडेका थिए ।