धरान: यही चैत १८ गते ५० किलोमिटर दुरीको छैटौं भोजपुर ट्रेल रेस आयोजना हुदैछ । 

मिरा राई फाउण्डेशनको आयोजनामा हुने रेसमा स्थानीयसँगै राष्ट्रियस्तरका खेलाडीहरु र विदेशी खेलाडी पनि सहभागी हुनेछन् । फाउण्डेशनले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै रेसको तयारी तीब्ररुपमा भइरहेको जानकारी दिएका छन् । चर्चित अल्ट्रा रेस धाविका मिरा राईको सम्मानमा यो रेस आयोजना भएको हो । मिराको जन्मथलो भोजपुरको पौवा दुम्माम गाउँपालिकामा स्थानीयले फाउण्डेशन पनि स्थापना गरेका छन् । सोही फाउण्डेशनले तेस्रो सँस्करणदेखि भने नियमितरुपमा यो रेस आयोजना गर्दै आएको छ । 

पत्रकार सम्मेलनमा चर्चित धाविका मिरा राईले ५० किलोमिटर र १० किलोमिटरको हुने जानकारी दिइन् । पौवा दुङमाको स्कुलबाट शुरु भएर मानेडाँडा हुदै जुरेली डाँडा, भोजपुर बजार, सुन्तले, हिले भञ्ज्याङ, तिवारी भञ्ज्याङ, च्याङ्ग्रे बजार हुदै सानो दुङ्मास्थित शुरुवाती विन्दुमा पुगेर टुंगिने पनि राईले बताइन् । उनले एक बर्षदेखि नै तयारीमा जुटेको पनि बताइन् । 

mira rai

गत पाँचौं सँस्करणदेखि ५० किलोमिटरको दौड शुरुवात गरिएको हो । यो दौडलाई विश्व र्याङकीङको लागी पनि पहल भइरहेको राईले जानकारी दिइन् । दौडमा ३ सय भन्दा बढी खेलाडीहरु सहभागी हुने अनुमान गरिएको पनि उनले बताइन् । प्रतियोगितामा स्थानीय, जिल्ला र खुल्ला गरेर ३ क्याटोगरीमा पुरस्कारको व्यवस्था गरिएको पनि राईले जानकारी दिइन् । स्थानीय खेलाडीहरुलाई हौसला प्रदान गर्न स्थानीय र जिल्लाका प्रथम, दोस्रो, तेस्रो हुने सहभागीहरुलाई पनि अलग्गै पुरस्कार पनि दिइने उनले बताइन् । 

फाउण्डेशनका केशर राईले ५० किलोटिरका प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं र सातौंलाई क्रमशः ५० हजार, २५ हजार, १४ हजार, १२ हजार, १० हजार, ८ हजार र ६ हजार रुपैया दिइनेछ । महिला र पुरुषतर्फका विजेताहरुले यो पुरस्कार पाउनेछन् । यस्तै, स्थानीयलाई पनि पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कार दिइनेछ भने १० किलोमिटरतर्फ पनि प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई ३ हजार पुरस्कार दिइनेछ । 

फाउण्डेशनका अध्यक्ष खेमराज राईले सहभागीताको लागी सबैलाई आह्वान गरे । यो रेसको शुरुवात सानो दुम्मा माध्यमिक विद्यालयले मिरा राईको सम्मान स्वरुप गरेको थियो । २०७६ मा विधिवतरुपमा दर्ता भएपछि फाउण्डेशनले तेस्रो सँस्करणदेखि निरन्तरता दिएको हो । 

भिडियो: