धरान: एलाइनेट जिमको आयोजनामा चैत्र ३ र ४ गते हुन लागेको चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ ।  

 आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट करिव ५० जना खेलाडीहरुले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगिताका विजेताले नगद एक लाख १० हजार र ५० हजार वरावरको फिटनेस गिफ्ट ह्याम्पर पाउनेछन् भने दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाँचौले २० हजार र छैठौले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । 

यसैगरि, व्यक्तिगत विधातर्फ वेस्ट पोजर, मोस्ट इम्प्रुपमेन्ट बडि, मस्कुलर मेन र वेस्ट टिम क्लवको उपाधि विजेताले जनही नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । चैत्र ३ गते प्रतियोगिताको प्रि–जजिङ्ग राउण्ड हुनेछ भने ४ गते प्रि–जजिङ्गबाट छनौट भएकाहरुले प्रतिस्पर्धा गर्ने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जानकारी दिए । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ८० केजी तौल समुह रहेको छ । प्रि–जजिङ्गमार्फत प्रत्येक तौल समुहबाट ६ जना खेलाडी फाइनल राउण्डमा प्रवेश गर्दै प्रतिस्पर्धा गर्नेछ।

चौथो मिस्टर कोशी एलाइनेट जिमको २० औ प्रस्तुती हो । यसअघि एलाइनेटले चार वटा राष्ट्रिय, ७ वटा मिस्टर पूर्वाञ्चल, ३ वटा मिस्टर कोशी, ४ वटा मिस्टर धरान र १ वेन्चप्रेस च्याम्पियसिप आयोजना गरिसकेको छ । एलाइनेटले २०६५, २०६६ र २०६७ सालमा मिस्टर कोशीको आयोजना गरेको थियो । २०६५ र ०६६ मा उर्लाबारीको विकास धिमालले उपाधि जितेका थिए भने ०६७ मा धरानको मिलन चाम्लिङले उपाधि जितेका थिए । विगतमा धरान ८ स्थित धरान सभागृहमा हुदै आएको प्रतियोगिता यसपाली प्राविधिक कारणले धरान १३ स्थित अमर सेवा समाजको हलमा हुने आयोजकले जनाएको छ ।