धरान: आइतबारदेखि काठमाडौमा सुरु हुन लागेको एलबिडिए थ्री वाइ थ्री ओपन पुरुष बास्केटबल टुर्नामेन्टमा सहभागी हुने खेलाडीहरुलाई धरान मेघा कलेजले विदाई गरेको छ । 

कलेजले शुक्रबार कार्यक्रम आयोजना गरि बास्केटबल टिमलाई विदाई गरेको हो । ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै मेघा कलेजले सहभागिता जनाउन लागेको हो । कलेजको टिममा प्रदेश १ का बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, सर्बधन राई, कबिन मगर र सन्तोस तामाङ रहेका छन् । खेलाडीहरु शनिबार काठमाडौ प्रस्थान गर्नेछन् । उनीहरुलाई कलेजले खादा लगाएर जितको शुभकामना दिदै बिदाइ गरेको हो । 

प्रतियोगिता चैत्र १२ गते देखि काठमाडौ त्रिपुरेश्वर कभर्डहलमा सुरु हुनेछ । प्रतियोगितामा सुनसरी र बिराटनगर गरि २४ टिमले सहभागिता जनाएको छ । विदाइ कार्यक्रममा मेघाका प्राचार्य भाष्कर पौडेल, आइडल स्कुलका प्रिन्सिपल सागर खड्का, युवा नेता भीम ज्वाला राई, प्रदेश १ बास्केटबल प्रशिक्षक बिकाश चाम्लिङ राई, प्रदेश १ महिला बास्केटबल खेलाडी तनु राई र एल्भिना गुरुङको उपस्थिति रहेको थियो ।