धरान: भोली बुधबारदेखि तेस्रो धरान भेट्रान विक्रम राई स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । 

धरान भेट्रान फुटबल क्लबको आयोजनामा धरान १६ स्थित रंगशालामा प्रतियोगिता शुरु हुने भएको हो । यो प्रतियोगिता स्वर्गीय फुटबल खेलाडी बिक्रम राईको स्मृतिमा आयोजना गरिएको हो । प्रतियोगिताको विजेतालाई नगद १ लाख १ हजार र उपविजेतालाई नगद ५१ हजार पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष रोमी मोक्तानले बताए । 

दिउँसो ३ बजे हुने प्रतियोगिताको उद्घाटन खेल हाम्रो धरान भेट्रान फुटबल क्लब र युनाइटेड भेट्रान फुटबल क्लब विराटनगर बीच हुनेछ । प्रतियोगिताको पहिलो संस्करण धरान भेट्रान फुटबल क्लबले उपाधी जितेको थियो भने दोस्रो संस्करणको उपाधी दमक लखनपुर भेट्रानले जितेको थियो ।

प्रतियोगिता बैशाख ९ गतेसम्म हुनेछ । प्रतियोगितामा धरान भेट्रान फुटबल क्लब, हाम्रो धरान भेट्रान फुटबल क्लब, हाम्रो इटहरी भेट्रान फुटबल क्लब, युनाइटेड भेट्रान फुटबल क्लब विराटनगर, काकडभिट्टा भेट्रान फुटबल क्लब, भरौल भेट्रान, बिर्तामोड भेट्रान क्लब, दमक लखनपुर भेट्रान, एभरेष्ट भेट्रान, उर्लाबारी भेट्रान क्लब, कन्काइ भेट्रान क्लब र धुलाबारी भेट्रान क्लबले सहभागीता जनाएका छन् ।