धरान: धरानको वडा नं ५, तल्लो देउरालीस्थित सेउती खोलामा निर्माणाधिन हेल्थ करिडोरको निर्माण कार्य मेयर हर्क साम्पाङले रोकिदिएका छन् ।

आइतबार प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियरसहित स्थलगत अवलोकनमा पुगेका मेयर साम्पाङले करिडोरले खोलातर्फ चेपेर निर्माण गरेको भन्दै तत्काल काम रोकेका हुन् । उनले ढुंगा भरेर राखिएको तारजाली पनि खोलाको भागभन्दा करिब १० फिट सार्न ठेकेदार पक्षलाई निर्देशन दिएका छन् । 

यो योजना संघीय सरकारको बजेटबाट भइरहेको छ । तत्कालिन मेयर तिलक राईको पालामा योजना परेको थियो । गत बर्ष पनि खोलाको भाग कति छोड्ने भन्ने विवादले काम हुन सकेको थिएन । इञ्जिनियर प्रभात तामाङका अनुसार शुरुमा ५० फुटको करिडोर बनाउने योजना भएपनि अहिले ४० फुटको निर्माण भएको हो । त्यसमा बाटो, फुटपाथ र आउटडोर जिमहलको डिजाइन रहेको छ । खोलाको डिमार्केशनको विवादले गत बर्ष पनि काम नभएको इञ्जिनियर तामाङले बताए । 

health coridoe1

मेयर साम्पाङले काम रोकेपछि भने तल्लो देउरालीस्थित सामुदायिक टोल विकास समिति असन्तुष्ट बनेको छ । गत बर्ष पनि विवादले काम हुन नसकेको भन्दै समितिका अध्यक्ष कवि याक्खाले यसपाली भइरहेको काम रोकिएकोमा असन्तुष्टी जनाए । ‘समन्वय गरेर नै काम भइरहेको थियो । नगरको इञ्जिनियरले पनि हेरिरहेकै थियो । आज एक्कासी मेयर आएर किन काम रोकिएको हो ?’उनले आक्रोश पोख्दै भने,‘मेयरको यो कदमविरुद्ध हामी बोल्छौं ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा पनि मेयर साम्पाङले श्री ३ को जस्तो व्यवहार गरेको भन्दै तीब्र आलोचना र आक्रोश पोखेका छन् । उनले मेयरको व्यवहारविरुद्ध चाडै पत्रकार सम्मेलन गर्ने पनि बताए । 

भिडियो: