धरान: बैशाख १ गते रिलिज भएको नेपाली चलचित्र जारीले बक्स अफिसमा धुम मच्चाइरहेको छ । तीन दिनसम्म सिनेमा हलहरुमा हाउसफुल चलिरहेको जारी हेर्न आइतबार धरानका उपमेयर अइन्द्रबिक्रम बेघा श्रीमतिसहित धरान ८ स्थित फ्रेन्ड्स सिनेमा पुगेका थिए ।

लिम्बु सँस्कृति, सँस्कार तथा परम्परालाई मिहिनढंगले चित्रण गरिएको फिल्म जारी हेरिसकेपछि प्रतिक्रिया दिदै उपमेयर बेघाले भने,‘२ घण्टाभित्र लिम्बु समुदायको सबै सँस्कार, सँस्कृति र परम्परालाई चित्रण गरेको रहेछ, मन छोयो ।’ उनले जारी प्रथाभित्रको विकृतिलाई पनि देखाइएको र जारी भित्रको माया, प्रेम सबैलाई जीवन्तरुपमा फिल्ममा प्रस्तुत गरिएको बताए । उनले भने,‘लिम्बु समुदायभित्रको साँस्कृतिक कर्म, विश्वासहरुलाई कलात्मकढंगले सबैलाई बुझ्ने र मनछुने गरि बिषयबस्तु राखिएको छ । म झण्डै झण्डै रोए पनि ।’

धरानका अग्रज रंगकर्मी नविन मेन्याङ्बोले जारी नेपालको अर्गानिक चलचित्र भएको प्रतिक्रिया दिए । उनले आफ्नै देशको माटोको अर्गानिक कथा र प्रस्तुतीकरण भएको साथै कलाकारहरुको अभिनय पनि राम्रो भएकोले उत्कृष्ट फिल्म बनेको बताए । ‘नेपाली फिल्मको विश्वव्यारी बजारको खोजी यस्तै फिल्मबाट हुनसक्छ । हाम्रो दर्शकहरुले कस्तो फिल्म मनपराउछन् भन्ने पनि प्रष्ट पारेको छ,’उनले भने । 

सामाजिक अभियन्ता रामप्रसाद राईले पनि नेपाली समाजभित्रै रहेको कथाहरुलाई उत्कृष्टढंगले पस्किएको प्रतिक्रिया दिए । ‘हामीभित्रै रहेछ त यस्तो उत्कृष्ट कथाहरु । फिल्म पनि बन्दो रहेछ । एउटा समुदायको कथा हो, न्याय गरेको छ,’उनले भने,‘यस्तो फिल्म हलिउड पनि लैजानुपर्छ ।’

भिडियो: