धरान: श्रमदानबाट कोकाहा खोलाको पानी धरान ल्याउने अभियानबारे धरानका मेयर हर्क साम्पाङ र बराहक्षेत्रका मेयर रमेश कार्कीबीच वार्ता भएको छ । 

बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चावचा गाउँका बासिन्दाहरुले समन्वय नभएको भन्दै आफुहरुलाई पनि पानी दिनुपर्ने माग राखेपछि पाइपलाइन विस्तार कार्य प्रभावित भएको थियो । स्थानीयबासीको मागले काम प्रभावित भएपछि मेयर साम्पाङ र बराहक्षेत्रका मेयर कार्कीबीच आज बिहान वार्ता भएको हो ।

बराहक्षेत्रको नगर कार्यालयमा भएको वार्तामा मौखिक समझदारी जुटेको  छ । वार्तामा धरानका मेयर साम्पाङ, खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेल, बराहक्षेत्रका मेयर कार्की, वडा नं १ का वडाअध्यक्ष किशन थापा मगरलगायत मात्र वार्तामा बसेका थिए । वार्ता सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै मेयर साम्पाङले चावाचाको समस्याबारे मौखिक सहमति जुटेको बताए । 

उनका अनुसार बराहक्षेत्रको गाउँमा सर्वे हुँदा अनिवार्यरुपमा वडाअध्यक्षसँग समन्वय गरेर गरिनेछ भने अन्नको क्षतिको अग्रिमरुपमा क्षतिपूर्ति दिने सहमति भएको छ । उनले भने,‘हामीले फागुनमा पत्र पठाएका थियौं । तर, कामको ब्यस्तताले कुराकानी हुन नपाएकै हो । त्यसमा कामजोरी भयो । तर उहाँहरुले पानी रोक्ने भन्नुभएको छैन । सकरात्मक नै हुनुहुन्छ ।’

dharan baraha mayor1

बराहक्षेत्रका मेयर कार्कीले पनि आफुहरुले पानी धरानमा लैजान हुदैन भनेर नभनेको र अवरोध पनि नगरेको बताए । तर, धरानले बराहक्षेत्रबाट पाइप विस्तार गर्दै गर्दा समन्वय, सहकार्य नगरेकोमा भने आफुहरुको आपत्ति भएको उनले खुलाए । चावचाबासीले पनि एक्कासी सर्वे टोली, पाइप विस्तार कार्य र डोजर आएपछि मात्र पीडा बोलेको मेयर कार्कीले बताए । उनले भने,‘चावचाबासीलाई हामी नै पानीको व्यवस्था गछौं । कार्यपालिका बैठकबाट निर्णय गरिसकेका छौं । उहाँहरुले पानी पाउनुपर्ने माग अब गर्नुहुन्न । एक्कासी सर्वे र डोजर आएपछि मात्र पीडा बोलेको हो ।’ 

मेयर कार्कीले स्थानीयबासीसँग छलफल गरेर लिखित सहमति गर्न केही दिन लाग्ने भएकोले त्यसबेलासम्म काम नगरिदिन पनि आग्रह गरेका छन् । उनले पोलेथिन पाइप भएकोले फुटेमा क्षति हुनसक्ने र त्यसबेला के गर्ने भन्ने निष्कर्षमा पुग्नुपर्ने भएकोले तत्काल गाउँ क्षेत्रमा काम नगरिदिन आग्रह गरेका थिए । मेयर साम्पाङले पनि बराहक्षेत्रका मेयरको आग्रह स्वीकार गर्दै गाउँक्षेत्रमा काम नहुने र फुलबारीदेखि जंगलक्षेत्रमा मात्र काम हुने बताएका छन् ।

भिडियो: