धरान: पिण्डेश्वर मन्दिर परिसरमा रहेको पोखरीमा माछाहरु मर्न थालेपछि जिउदै जिवित ७ सय किलो माछाहरु सप्तकोशीमा लगेर छोडिएको छ। 

पिण्डेश्वर बाबाधाम समितिले आज (आइतबार) जाल हान्ने मानिसहरु बोलाएर जिउँदो माछा निकालेर सप्तकोशीमा लगेर छोडेको हो । बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार चर्को गर्मीको कारण ५ दिन यता माछाहरु मर्न थालेका थिए । ‘दैनिक माछा मर्न थालेपछि वडा १४ का अध्यक्षसँग सल्लाह गरेर आज ७ सय किलोजति माछा सप्तकोशीमा विर्सजन गरियो,’अध्यक्ष वनेपालीले भने । 

उनका अनुसार ती माछाहरु पिण्डेश्वर मन्दिर दर्शनमा आएका भक्तजनहरुले भुरा छोडेका थिए । त्यसैले उक्त पोखरीका माछाहरु बढे पनि बिक्री गर्ने गरिएको छैन । ‘पितृहरुको नाममा भक्तजनहरुले साना साना भुराहरु छोडेका थिए । त्यसैले धार्मिक आस्थामा चोट पुग्न नदिन माछाहरु बिक्री गर्दैनांै । आज अक्षय तृतीयको अवसरमा सप्तकोशीमा ज्युउँदै पुर्याएर बिर्सजन गर्यौ,’उनले भने । 

पाँच दिनदेखि लगातार अढाई सय वटा जति माछा मरेको थियो । माछा मार्ने व्यक्तिहरुका अनुसार पोखरीमा पानी कम भएको र माछा धेरै भएकोले अक्सिजनको कमीले मरेको हो । ‘माछा मार्नेहरुले अक्सिजनको कमी भयो भने । लेउ पनि धेरै रहेछ । त्यसलाई चुना घोलेर हालेपछि लेउ काट्छ र थिग्रन्छ भनेर सुझाव दिएका छन् । हामी त्यसै गछौं,’ अध्यक्ष वनेपालीले भने ।