धरान: कोकाहाको पानी धरान लैजान जिल्ला समन्वय समितिको रोहबरमा सम्झौता गर्नुपर्ने निर्णय बराहक्षेत्र नगरपालिकाले गरेको छ । 

समन्वय नगरि कोकाहाको पानी धरान लगेको भन्दै बराहक्षेत्र नगरपालिकाको बैशाख ११ गते सोमबारको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले कोकाहाको पानी धरान लैजान गरेको संस्थागत निर्णय पनि माग गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकको उक्त निर्णयबारे बराहक्षेत्रले हिजो मंगलबार धरान उपमहानगरपालिकालाई पत्राचार गर्दैै जानकारी दिएको छ । उक्त पत्रमा जिल्ला समन्वय समिति सुनसरीको रोहबरमा सम्झौता गर्ने निर्णय कार्यपालिकाले गरेको हुनाले सोही अनुसार आवश्यक वातावरण सृर्जना गर्न पनि अनुरोध गरिएको छ । 

यसअघि बैशाख ६ गते धरानका मेयर हर्क साम्पाङ आफै बराहक्षेत्र नगरपालिका पुगेर वार्ता गरेका थिए । उक्त वार्तामा समन्वय गरेर मात्र सर्वे र पाइप विस्तारको काम अघि बढाउने सहमति भएको थियो भने बराहक्षेत्रको गाउँहरुमा तत्काल काम नगर्ने सहमति भएको थियो । ती गाउँहरुमा पाइप फुटेर क्षति पुग्ने जोखिम भएमा के गर्ने भनेर स्थलगतरुपमा छलफल गरेर सहमति गर्ने भनिएको थियो । यो सहमति विपरीत काम भएको भन्दै बराहक्षेत्र नगरपालिका असन्तुष्ट भएको थियो । 

मेयर साम्पाङले भने बराहक्षेत्रको यो निर्णयप्रति औपचारिक प्रतिक्रिया दिएका छैनन् । उनले आज मध्याह्न १२ बजे पत्रकार सम्मेलन राखेका छन् । सम्भवतः यो पत्रकार सम्मेलनमा बराहक्षेत्र नगरपालिकाको निर्णयबारे उनले औपचारिक धारणा दिनेछन् । 

barahaxetra