धरान: केही दिनदेखि इटहरी र धरान उपमहानगरबीच सिमाना विवाद चर्किएको छ । 

सिमानाको दाबी विरोध यी दुई उपमहानगरमा मात्र सिमित रहेन, धरानको अर्को छिमेकी बराहक्षेत्र नगरपालिकामा पनि यसको असर परेको छ । बुधबार धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले इटहरीसँगको सिमाना विवादबारे पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलनमा हाल बराहक्षेत्र नगरपालिकामा रहेको अमाहा सिमसार पनि धरानमा पर्ने बताइएको थियो । 

धरानको यो दाबीले बराहक्षेत्र नगरपालिका पनि रुष्ट बनेको छ । जसको कारण बिहिबार बराहक्षेत्रका मेयर रमेश कार्की वडा १ का अध्यक्षसहित चावाचा गाउँमा पुगेर कोकाहा खानेपानी अभियानको काम नै रोकिदिएका छन् । पाइप जडानको काम भइरहेको स्थलमा बराहक्षेत्र नगरपालिका १ स्थित चावाचामा पुगेका मेयर कार्कीले अमाहा सिमसार दाबी गर्ने धरानले भविष्यमा पाइप विस्तार गरिएको बराहक्षेत्रको गाउँहरु पनि दाबी गर्नसक्ने भन्दै तत्काल काम रोक्न निर्देशन दिएका थिए ।

ramesh karki

मेयर कार्कीले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र नापीसँग सल्लाह गरेर मात्र काम गर्न फिल्डमा खटिएका दिनेश वान्तावालाई आग्रह गरेका थिए । मेयर कार्कीले भने,‘धरानले अमाहा हाम्रो भन्ने कुरा आइसक्यो, अब भोली पाइप लगेका छौं, यो पनि धरान २० पर्छ भन्न बेर छैन । समस्या होला जस्तो देखे, यो कुरामा क्लियर भएर मात्र काम गर्नुहोला ।’

मेयर कार्कीले पहिला समन्वय समिति, जिल्ला प्रशासनको रोहबरमा बसेर छलफल गर्ने र सम्झौता भइसके पछि मात्र काम अघि बढाउनुपर्ने पनि बताए । नगर कार्यपालिका बैठकबाट पनि सोही निर्णय भएको र धरान उपमहानगरपालिकालाई पत्राचारसमेत गरिसकेको उनले बताए ।