धरान:कोकाहाको पानी ल्याउन समन्वय नगरेको भन्दै संस्थागत निर्णय र सम्झौता गर्नुपर्ने मागसहित छिमेकी बराहक्षेत्र नगरपालिकाबाट आएको पत्रको जवाफ धरान उपमहानगरपालिकाले पठाएको छ ।

धरान उपमहानगरपालिकाले उक्त पत्रको जवाफ आज बराहक्षेत्र नगरलाई पठाएको हो । धरानका मेयर हर्क साम्पाङले बराहक्षेत्र नगरलाई पत्र पठाएको पुष्टि गरे । उनले भने,‘उहाँहरुलाई पत्रको जवाफ पठाइसकेका छौं ।’ बराहक्षेत्र नगरपालिकाले समन्वय नभएको भन्दै सोमबार कार्यपालिका बैठकबाट संस्थागत निर्णय माग गर्ने र जिल्ला समन्वय समितिको रोहबरमा सम्झौता गर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी हिजो पत्रमार्फत बराहक्षेत्रले धरानलाई दिएको थियो ।

मेयर साम्पाङले बराहक्षेत्रले सम्झौता गर्न चाहेको भए त्यो पनि गर्ने प्रतिक्रिया दिए । ‘सम्झौता गर्ने हो भने गरौं न । के गर्नुपर्ने हो ? तर पानी जस्तो कुरामा, बाटोमा त्यसो नगरे हुने । मेरो बाटोबाट नहिड भन्न त मिल्दैन होला नि,’उनले भने,‘ उहाँहरुको मुहानबाट ल्याएको पनि होइन । धरान २० कै मुहान हो । शुरुमा जानकारी पनि गराएको हो, फलोअप गरिरहनुपर्छ भन्ने रहेछ, त्यो चै नभएकै हो ।’

मेयर साम्पाङले यसअघि पनि बैशाख ६ गते बराहक्षेत्र नगरपालिकाकै कार्यालयमा पनि छलफल भएको र पत्रकार सम्मेलन गरेर धेरै कुरा बोलिसकेको बताए । बराहक्षेत्रको कार्यापालिका बैठकबाट संस्थागत निर्णय माग गर्ने र सम्झौता गर्नुपर्ने निर्णय भएकोमा पनि उनले सकरात्मक नै लिएको बताए । ‘कार्यापालिकाबाट निर्णय भएन, सकरात्मक नै छौं । पानी नखाउ त भन्नुहुदैन होला,’उनले भने,‘उहाँहरुको बाटो भएर आउने हो । जे जवाफ पत्रमा माग भएको थियो, पठाएको छुँ । उहाँहरुबाट सहकार्य र समन्वयको आशा गरेको छुा । विश्वास छ, सहयोग गर्नुहुन्छ ।’

भिडियो: