धरान: मुआब्जा नदिई सर्दु जलाधार क्षेत्रबाट सरकारले जर्बजस्ती हटाएको दाबी गर्दै पुनः अतिक्रमण गर्ने, मुद्दा लड्ने मध्येका एक प्रमुख व्यक्ति हुन् जगतप्रसाद राई । उनी भेडेटार गाविसका पुर्वजनप्रतिनिधिसमेत हुन् ।

पुराना जग्गाधनीहरुको आवरणमा उनकै नेतृत्वमा जलाधार क्षेत्रमा पुनः अतिक्रमण र किनबेच शुरु भएको थियो । तत्कालिन जिल्ला विकास समिति सुनसरीले जलाधार क्षेत्रको जग्गा किनबेच रोक्का गरेपछि जग्गाधनीकोतर्फबाट सर्वोच्चमा मुद्दा हाल्न र खर्च जुटाउन उनले नै नेतृत्व लिएका थिए । बिशेष गरि हाल धरान ४ छोटीमोरङ डाँडामा किनबेच र प्लटिङ गर्न जग्गा व्यापारीको गिरोहलाई प्रवेश गराइएको थियो । 

अहिले भने जलाधार क्षेत्र अतिक्रमण र किनबेच गर्न नेतृत्व गर्ने तिनै जगत राईले मालपोत कार्यालयमा पुगेर जग्गा जलाधार क्षेत्रलाई दिएको खुलेको छ । उनको नाममा रहेको १ बिगाहा १६ कट्ठा १ धुर जग्गा २०७९ माघ २७ गते मालपोत प्रमुख चन्द्रप्रसाद मिश्रले जलाधारको नाममा लगत कायम गर्ने निर्णय गरेका छन् । जग्गाधनी जगत राई आफै मालपोत कार्यालय आएर जलाधारको नाममा जग्गा दिने भनेपछि उक्त निर्णय गरेको मिश्रले बताए । ‘उहाँ आफै आएर जग्गा सर्दु जलाधारलाई छोडिदिने भनेपछि लगतकट्टा गरेर जलाधारको नाममा लगत काम गरिदिएको हो,’ मिश्रले भने ।

जानकारहरुका अनुसार जलाधार क्षेत्र किनबेचबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गहिरो अनुसन्धान गरिरहेको छ । त्यसक्रममा नै राईलाई पनि अख्तियारले पटक पटक वयानमा बोलाएपछि कारबाहीबाट जोगिन उनले यो उपाय अपनाएका हुन् । राईसँग सम्पर्क गर्दा उनले उपभोग गर्न नसकिने खोलातर्फको जग्गा भएकोले आफुले जलाधार क्षेत्रलाई नै दिएको बताए । उनले भने,‘खर्दु खोलातिरको जग्गा हो, त्यसैले दिएको हुँ ।’

मालपोतले ३१२ बिगाह बढी जग्गा व्यक्तिको नामबाट लगतकट्टा गरेर सर्दु जलाधार क्षेत्रको नाममा लगत कायम गरिसकेको छ । अब धरान ४ छोटीमोरङ डाँडाको सर्वोच्च अदालतबाट विगतमा फैसला भएको करिब ४२ बिगाहा जग्गा मात्र जलाधार क्षेत्रको नाममा लगत कायम गराउन बाँकी छ । विगतमा सर्वोच्चबाट २ पटक मुआब्जा दिएको प्रमाण नभेटिएको भन्दै जग्गाधनीको पक्षमा फैसला भएको थियो । अहिले भने त्यो मुद्दा उल्टिनसक्ने गरि मुआब्जा दिएको प्रमाण पेश भएकोले मुद्दा पुर्ण इजलाशमा पेश गर्ने आदेश भइसकेको छ । 

कस्तो कस्तो जग्गाको लगतकट्टा भयो ?

मालपोत कार्याल्य धरानका अनुसार हालसम्म कुल ३१२ बिगाहा १८ कट्ठा १० धुर जग्गा व्यक्तिको नामबाट लगतकट्टा गरेर जलाधार क्षेत्रको नाममा लगत कायम भएको छ । मालपोतले पहिलो पटक २०७८ बैशाख २८ गते १८२ बिगाहा १० कट्ठा ४ धुर जग्गा व्यक्तिको नामबाट लगतकट्टा गरेर जलाधार क्षेत्रको नाममा कायम गर्ने निर्णय गरेको थियो । यी जग्गाहरु तत्कालिन जग्गाधनीले मोरङको वयरवन क्षेत्रमा सट्टाभर्ना लिएको र तिनै व्यक्तिको नाममा जलाधार क्षेत्रमा पनि जग्गा रहेको भेटिएपछि पहिलो चरणमा उनीहरुको लगतकट्टा गरिएको थियो । 

दोस्रो पटक २०७९ पुष ७ गतेको मितिमा मालपोतले २३ बिगाहा २ कट्ठा ०.५ धुर जग्गा व्यक्तिको नामबाट लगतकट्टा गरेर जलाधार क्षेत्रको नाममा कायम गरेको थियो । सट्टाभर्ना पाएका जग्गाधनीहरुले यी जग्गाहरु आफ्नो नामबाट परिवारका सदस्यहरुको नाममा हकवाला नामसारि गरिएको भेटिएपछि लगतकट्टा गरेर जलाधार क्षेत्रको नाममा कायम गरिएको मालपोत कार्यालय धरानले जनाएको छ । 

यस्तै, पछिल्लो समय २०८० बैशाख १४ गते विभिन्न ५१ जना व्यक्तिको नाममा रहेको १०५ बिगाहा ११ कट्ठा ६.२५ धुर जग्गा जलाधारको नाममा लगत कायम गरिएको छ । यी जग्गाको स्रेस्ता मालपोतमा फेला नपरेपनि अध्ययनको क्रममा नापी कार्यालयको फिल्डबुकमा जग्गाधनी भेटिएको थियो । साथै, उनीहरुले मोरङमा सट्टाभर्ना पाएको प्रमाण र अध्ययन प्रतिवेदनमा पनि उल्लेख गरिएकोले लगत कट्टा गरेर जलाधार क्षेत्रको नाममा लगत कायम गरिएको मालपोत प्रमुख मिश्रले जानकारी दिएका छन् ।