धरान: बाँझगरा सामुदायिक वन उपभोक्ता समुह धरान १५ को कार्यालय भवन नजिकै गाडिएको अवस्थामा भेटिएको टुना प्रकरणमा स्थलगत छानबिन टोलीले स्वीकृति भन्दा बढी रुख कटान नभएको प्रतिवेदन बुझाएको छ ।

उक्त घटनाको अनुसन्धानको लागि पाँचकन्या सबडिभिजन कार्यालयबाट अनुसन्धान गर्न ३ जनाको टोलीले जंगलमा सर्च अप्रेशन गरेको थियो । त्यसक्रममा अनुमतिभन्दा बढी रुखमा हानी, नोक्सानी नदेखिएको रिपोर्ट प्राप्त भएको अनुसन्धान अधिकृत रहेका पाँचकन्या सबडिभिजन प्रमुख महेशकुमार साहले जानकारी दिए । स्वीकृत भन्दा बढी रुख नकाटिएको भएपनि वरामद भएको टुना वन समुहको कार्यसमितिले किन गाडेर लुकायो ? भन्ने प्रश्नको छानबिन जारी रहेको उनले बताए । 

प्रमुख साहका अनुसार स्वीकृत भन्दा बढी रुख काटिएको नभेटिए पनि वरामद भएको टुनाको स्रोत के हो ? भन्ने प्रश्नको निरुपण हुन बाँकी नै रहेकोछ । अनुसन्धान त्यसैमा केन्द्रीत रहेको उनले बताए । ‘जंगलमा स्थलगत खटिएको टोलीले रुख बढी हानी, नोक्सानी नभेटिएको रिपोर्ट दिएको छ । तर पनि किन टुना लुकायो त ? त्यसको स्रोत के हो ?’साहले भने,‘यो बिषयमा अझै अनुसन्धान जारी छ ।’

साहका अनुसार घटनाको मचुल्का, स्पष्टीकरण, वन कार्यसमितिको वयान लिने र आम भेलाको निर्णय आएपछि अनुसन्धानलाई अन्तिम रुप दिइनेछ । समुदायमा हस्तान्तरित क्षेत्रको घटना भएकोले वन कार्ययोजना अनुसार कस्तो कारबाही गर्ने भन्ने आमउपभोक्ताको भेलाको निर्णय महत्वपुर्ण हुने साहले बताए । ‘अबको एक साताभित्र घटनाको अनुसन्धान फाइनल हुन्छ, त्यसपछि के कस्तो कारबाही हुने भन्ने हुन्छ,’उनले भने ।

गत बैशाख २५ गते सबडिभिजन वन कार्यालयले छापा मारेर बाँझगरा वन समुहको कार्यालय नजिकै गाडिएको अवस्थामा २८ थान टुना वरामद गरेको थियो । घाटगद्दी गरेर राखिएको काठको नजिकै टुना लुकाएको भेटिएपछि वन समुहका पदाधिकारीहरु अनुसन्धानको घेरामा छन् । यद्यपी, वन समुहले भने स्वीकृत रुखकै हाँगा र टुप्पा दाउराकोरुपमा वितरण गर्नुपर्ने भएपनि चिरान गर्दा काठ निस्कने भएपछि गाडेर राखिएको दाबी गर्दै आएका छन् । गाडेर लुकाउने गल्ती भएपनि समुहकै निर्माण गर्न लागेको भवनको लागि र उपभोक्तालाई पनि वितरण गर्नको लागि गाडेर राखिएको उनीहरुको भनाई छ ।