धरान: मोटरसाइकलको ठक्करबाट धरान १३ मा एक वेवारिसे महिलाको मृत्यु भएको छ । 

करिब ६५ बर्षीया वृद्धालाई धरान १३ स्थित जिरोपोइन्ट नजिकैको मोडमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा दिउँसो करिब साढे १ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको प्रहरीले जनाएको छ । मृतक महिलाको नाम, ठेगाना पनि खुल्न सकेको छैन । मृतक तराई मुलकी भएको पनि प्रहरीले जनाएको छ । ‘मृतकको कोही आफन्त सम्पर्कमा आएका छैनन्,’डिएसपी नवराज मल्लले भने ।

घाइतेको उपचारको क्रममा मृत्यु भएपछि मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार मोटरसाइकल चालक धरान १६ का ३२ बर्षीय रमन श्रेष्ठ हुन् । उनले प्रदेश १–०२–०५० प ६६७३ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएका थिए । मोडमा एक्कासी महिलाले सडक क्रस गर्न खोज्दा मोरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।