धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा खानेपानीको चरम अभाव भएको छ । 

पानीको अभावले प्रतिष्ठानको आवास क्षेत्र, कार्यालयमा मात्र होइन, उपचार सेवामा पनि असर परिरहेको विद्यार्थी तथा चिकित्सकहरुले बताएका छन् । पानीको चरम अभाव भएपछि शुक्रबार प्रतिष्ठानका विद्यार्थीहरुले प्रर्दशन गरेका थिए । करिब दुई सातादेखि पानीको समस्या भइरहेकोले समस्या समाधान गर्न दबाब स्वरुप प्रर्दशन गरिएको विद्यार्थीहरुको भनाई छ । विद्यार्थी कल्याण समाजको अगुवाईमा प्रतिष्ठान हाताभित्र शान्तिपुर्ण प्रर्दशन भएको थियो । 

वीपी प्रतिष्ठानमा खानेपानीको आफ्नै संरचना र पाइपलाइन रहेको छ । यहाँ शिवजट्टा र भालुखोलाको सतही स्रोत रहेको छ, जहाँ सुक्खा याममा पानी हुदैन । त्यसैले चारकोशे जंगलमा बोरिङ गरेर प्रतिष्ठानमा पानी आपूर्ति हुने गरेको छ । विगतमा खानेपानी संस्थानले ती पम्पहरुको सञ्चालन गरेर प्रतिष्ठानमा पानी आपूर्ति हुन्थ्यो भने अहिले खानेपानी व्यवस्थापन बोर्डले गर्छ । 

bp student copy

चरम पानी अभाव भएपछि बिहिबार धरानको कार्यपालिका बैठकअघि पनि विद्यार्थीहरुले वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)लाई ध्यानाकर्षण पत्र बुझाएका थिए भने वडाअध्यक्षमार्फत मेयर तथा खानेपानी बोर्डका अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई पनि पत्र पठाएका थिए । उक्त पत्र मेयर साम्पाङलाई कार्यपालिका बैठकमा बुझाउदै वडाअध्यक्ष राईले वीपीमा भइरहेको पानी अभावको समस्याबारे पनि ध्यानाकर्षण गराएका थिए । 

बैठकमा नै मेयर साम्पाङले प्रतिष्ठानले जंगलमा भएको ५ नम्बर वेल भएको स्थानमा साविकको वेल नजिकै अर्को नयाँ वेल खनेपछि दुवै वेलमा पानी नआएर समस्या भएको बताएका थिए । पुरानो वेलको नजिकै अर्को वेल खन्दा पानी नआएको र पुरानोमा पनि समस्या आएको उनले बताए । ती संरचनाहरु मर्मत गरेर चाडै आपूर्ति व्यवस्थित गर्न प्रयास भइरहेको भन्दै मेयर साम्पाङले विभिन्न वडाहरुको पानी कटौती गरेर भएपनि वीपीमा पठाइएको जानकारी दिएका थिए ।