धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करिब दुई सातादेखि जारी खानेपानी समस्या हल नभएपछि विद्यार्थीहरुलाई विदा दिइएको छ । 

प्रतिष्ठानले मंगलबारदेखि एक साताको लागि विद्यार्थीहरुलाई विदा दिएको हो । प्रतिष्ठानको हस्पिटल र आवास तथा होस्टल क्षेत्रमा पर्याप्त खानेपानी आपूर्ति हुन नसकेको र साथै विद्यार्थीहरुले पनि लिखितरुपमा नै अनुरोध गरेको कारण एक साताको लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको एसिस्टेन्ट डिन डा.भम्मी सिंहले एक सुचना जारी गर्दै जानकारी दिएकी छिन् । विद्यार्थीहरुलाई आगामी १३ जुनसम्म विदा दिइएको छ भने १४ जुनदेखि कक्षा सुचारु हुने पनि सुचनामा उल्लेख छ ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.सञ्जिव शर्माले विद्यार्थीहरुको पठनपाठन पछि पनि गर्न सकिने भएकोले अस्पताल सेवा प्रभावित हुन नदिन यो निर्णय लिनुपरेको बताए । उनले भने, पठनपाठन व्यवस्थापन हुनसक्छ, तर विरामीको उपचार सेवालाई रोक्न सकिदैन । त्यसैले एक सातालाई विदा दिइएको हो । गर्मी पनि धेरै बढेको र पानी पनि नभएको भन्दै विद्यार्थीहरुले नै लिखित माग गरेको पनि उनले बताए । 

प्रतिष्ठानको हस्पिटल सञ्चालनमा मात्रै दैनिक १५ लाख लिटर पानी आवश्यक छ । तर, आपूर्ति भने ५ लाख लिटर जति मात्र छ । ट्यांकरबाट किनेर हस्पिटल सेवा सुचारु गर्नुपरिरहेको छ भने खानेपानी व्यवस्थापन बोर्डले पनि ट्यांकरबाट पानी उपलब्ध गराउछ । तर, यसरी दिइएको पानी पर्याप्त भने छैन । होस्टलमा बस्ने करिब १५ सय विद्यार्थीहरुलाई विदा दिदा हस्पिटल सेवामा पानी सहज हुने अपेक्षा गरिएको निमित्त उपकुलपित डा.शर्माले बताए । खानेपानी समस्या हल गर्न मेयर खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष पनि रहेका मेयर हर्क साम्पाङसँग समन्वय भइरहेको पनि उनले बताए ।

प्रतिष्ठानको खानेपानी स्रोत र पाइपलाइन, रिजर्ब वेयरलगायत संरचना छुट्टै भएपनि सञ्चालन, वितरण भने विगतमा खानेपानी संस्थान र हालमा धरान खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको छ । त्यसबापत प्रतिष्ठानले बोर्डलाई बार्षिक रकम उपलब्ध गराउने सम्झौता रहेको छ । प्रतिष्ठानको बिग्रेको पम्प मर्मत गरेर आइतबार राती सञ्चालनमा आएपनि पानी रिजर्ब वेयरसम्म नपुगेपछि समस्या उस्तैछ ।

notice bpkihs copy