धरान: खडेरी लम्बिएसँगै यो बर्ष पनि धरानमा खानेपानीको समस्या दोहोरिएको छ । 

धरान खानेपानी व्यवस्थापन बोर्डले तोकेको समयमा पनि पानी नआएको, पानी आउदा पनि आधा घण्टा पनि नआएको जनगुनासो व्यापक छ । विगतमा दिन बिराएर भएपनि पानी आउने गरेकोमा यसपाली भने लामो समयसम्म पनि पानी नपाएको जनगुनासो छ । यही बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पम्प बिग्रदा नगरबासीलाई दिनुपर्ने पानी खानेपानी बोर्डले हस्पिटल सेवा बन्द नहोस् भनेर पठाइदिदा पनि पानीको समस्या  भएको छ ।

बुधबार वडा नं १२ का वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यसहित वडाका जनता पानी नआएको भन्दै मेयर हर्क साम्पाङ भेट्न उपमहानगरपालिका पुगेका थिए । उनीहरुले आफ्नो पालोमा पनि पानी नआएको भन्दै मेयर साम्पाङलाई गुनासो गरे । साथै, पानी जसरी भएपनि उपलब्ध गराउन माग गरेका थिए । वडाअध्यक्ष टंक राईले तोकेको समयमा पानी नदिने अवस्था भए पुर्वसुचना गर्नुपर्ने पनि बताएका थिए । कुनै एउटा टोलमा मात्र नभएर १२ नम्बर वडाभरि पानी नआएर धेरै समस्या भएको उनले बताए । 'पालोको दिन पनि आउदैन । जनता पानी आउछ भनेर पर्खेर बसेर हुन्छन्, पानी नआउदा हामीलाई कराउछन्,' उनले भने, 'सुचना दियौं भने २ धारेबाट ल्याउछन् कि खोलामा जान्छन् कि, सक्नेले ट्यांकरबाट भएपनि जोहो गर्छन् । '

मेयर साम्पाङलाई भेट्न वडाबासीहरुसँगै वडाअध्यक्ष राई, कार्यपालिका सदस्य अनुप देवान, वडा सदस्य ब्रह्मज्ञ भट्टराई, चुन्नु थापा पनि पुगेका थिए । मेयर साम्पाङले पानी नभएर नै समस्या भएको र बाँडेर खानुपर्ने बाध्यता भएको पनि उनले बताए । उनले पानी नपरेर खडेरी लम्बिएर खोलाखोल्सी सुकेको, लोडसेडिङले पम्प चलाइरहन नपाउदा र पम्प पनि बिग्रिरहदा पानीको समस्या भएको बताएका थिए । उनले वीपी प्रतिष्ठानको हस्पिटल सेवा अवरुद्ध नहोस् भनेर पनि नगरबासीलाई पठाउने पानी कटौती गरेर पठाउदा केही समस्या भएको बताएका थिए । वीपी प्रतिष्ठानको बिग्रेको पम्प मर्मत गरेर एउटा वेल सञ्चालनमा आइसकेको र अर्को पनि चलाउने प्रयासमा रहेको भन्दै हरसम्भव नगरबासीलाई पानी समस्या हुन नदिन प्रयत्न भइरहेको बताएका थिए ।

भिडियो: