धरान: सुनसरी जिल्ला जुडो संघको आयोजनामा पोखरामा सम्पन्न ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल भएका र  सहभागी खेलाडीहरुलाई सम्मान गरिएको छ । 

शुक्रबार बिहान धरान १६ रंगशालास्थित संघको भवनमा कार्यक्रम आयोजना गरि खेलाडीहरुलाई सम्मान गरिएको हो । धरानबाट ५ जना खेलाडी सहभागी भएका थिए । ती मध्ये दिपिका आचार्जु, दिब्या लिम्बू र सुमन्ता राईले पदक जिथतेका थिए । यस्तै, प्रशिक्षक रोशनी राई सहित रिस्ता राई र राहुल भुजेललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाको उपमेयर अईन्द्र बिक्रम बेघाले खेलाडीहरुलाई सम्मान गरेका थिए । उपमेयर बेघाले सम्मानित खेलाडीहरुलाई बधाई दिदै आगामी दिनमा उपमहानगरपालिकाले जुडो खेललाई सम्बोधन हुने गरी बजेट विनियोजन गर्ने बताए । 

सुनसरी जिल्ला जुडो संघले आगामी आर्थिक बर्षमा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी रहेको सचिब रिकेश विश्वकर्माले जानकारी दिएका छन् । निष्क्रिय रहेको संघमा हाल धरान उपमहानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष सुर्य बहादुर भट्टराई (मनोज)ले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । कार्यक्रममा कुरास संघका वरिष्ठ उपाध्यक्ष तथा नेकपा एकीकृत समाजवादी नेता जीवन राई, माओवादी नेता फोक्वाहाङ्ग लिम्बू (चोत्लुङ्ग)लगायतको पनि उपस्थिति रहेको थियो ।