धरान: धनकुटाको स्याउले मोडकी १९ बर्षीया पिस्कीला तामाङ सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक पढ्दै थिइन्, र ग्यालेक्सी स्कुलमा पढाउथिन् पनि ।

उनी आफ्नो प्रमाणपत्रहरु लिन घर गएकी थिइन्, र १२ दिनअघि शुक्रबार इटहरी फर्कदैथिइन् । कलेज र स्कुल पनि भ्याउने गरि उनी हतारमा बिहानै साढे ५ बजेतिर गाडी चढिन् ।  हतार भएकोले आमाले नै उनलाई एउटा सुमो गाडीमा चढाएर पठाइदिए । भारतीय नम्बर प्लेटको सुमोले पिस्कीलालाई इटहरीसम्म लिफ्ट दिएको थियो ।

तर, केही समयपछि नै उक्त गाडी दुर्घटनामा परेको भन्ने खबर घरमा पुग्यो । धरान धनकुटा कोशी राजमार्गको रुद्रबारी भन्ने ठाउँमा दुर्घटना भएको थियो । पिस्कीला गम्भीर घाइते भएकी थिइन् । उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइएको थियो । आइसियुमा उपचारको क्रममा उनको हिजो (सोमबार) निधन भयो ।

यो दुर्घटना पछि २ जना भारतीय भनिएका व्यक्तिहरु फरार छन् भने २ जना मोरङ जिल्लाका पक्राउ परेका छन् । दिउँसो घाम चर्किएपछि मात्र दुर्घन्ध फैलिएपछि सुमो गाडीमा गाँजा भएको प्रहरीले फेला पारेको थियो । त्यसपछि मात्र भारतीय नम्बर प्लेडको सुमो चोरीको भएको र गाँजा तस्करी भइरहेको प्रहरीले पत्ता लगाएका थिए । भाग्दै गरेको अवस्थामा पक्राउ परेका २ जना नेपालीले आफुहरु पनि पिस्कीला जस्तै लिफ्ट मागेको यात्रु भएको दाबी गरेका छन्, तर उनीहरु भागिरहेको अवस्थामा पक्राउ परेकोले शंकाको घेरामा छन् ।

पिस्कीलाको ज्यान जाने गरि भएको दुर्घनामा प्रहरी नियन्त्रणमा रहेका २ जनालाई सामान्य मात्र चोट लाग्नु र अरु २ जना फरार हुनु शंकास्पद भएको पनि मृतक परिवारको भनाई छ । मृतक परिवारजनले भने पिस्कीलाले न्याय पाउनुपर्ने माग गरेका छन् । मृतककी ठुली आमा जमुना भुजेलले घटनाको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताइन् । ‘हाम्रो छोरीले अकालमै ज्यान गुमाइन्, न्याय होस्,’उनले भनिन्,‘नेपालको गाडीहरु प्रहरीले ठाउँ ठाउँमा चेक गर्ने तर चोरी गरेर ल्याएको भारतीय गाडी चै किन चेकजाँच नगरेको ? पहिला नै राम्रोसँग चेक गरेको भए त्यो गाडी धनकुटासम्म जानै पाउदैनथ्यो ।’

मृतकका भेना विनय मगरका अनुसार दुर्घटना भएको सुमोमा राखिएको नम्बर प्लेड भारतीय ट्रकको भएको खुलेको छ । उक्त ट्रकको मालिक बिहारको कटियार भन्ने ठाउँका सञ्जय यादव भएको पनि उनले बताए । ‘सुमो गाडीमा भारतको ट्रकको नम्बर प्लेट हालेर नेपालमा चलिरहेको रहेछ । ब्लु बुक, अन्य कागजपत्र चेकजाँच गर्नुपर्दैन ?’उनले पनि भने ।