धरान: पहाडी जिल्लामा लगातार बर्षाले सप्तकोशी नदीमा बाढी आउदा बराहक्षेत्र नगरपालिकाको वडा नं २ र ६ स्थित शिशौली घाट क्षेत्रमा तीब्र कटान गरिरहेको छ । 

दुई दिनदेखि पुर्वी पहाडी जिल्लामा बर्षासँगै बाढी, पहिरोले ठुलो धनजनको क्षति पुगेको छ । पहाडी क्षेत्रमा लगातार पानी परेपछि सप्तकोशी नदीमा पनि बाढी आएको छ । जसले गर्दा बराक्षेत्रको शिशौली घाट क्षेत्रमा तीब्र कटान भइरहेको बराहक्षेत्र नगरपालिकाले जनाएको छ । आज (मंगलबार) बराहक्षेत्रका मेयर रमेश कार्की उक्त कट्टान क्षेत्रको स्थलगत अवलोकनमा पुगेका थिए । 

मेयर कार्कीले कटानलाई रोकथाम गर्न आवश्यक पहलको लागि सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे आग्रह गरेका थिए । साथै मेयर कार्कीले कटानको प्रभावबारे स्थानियसंग छलफल पनि गरेका थिए । यस्तै, आवश्यक योजनाका लागि भारतको बिहार सरकारका नेपाली प्रतिनिधिसँग पनि छलफल भएको मेयर कार्कीका सचिवालयले जनाएको छ । 

saptakoshi katan

प्रजिअ पाण्डेले बराक्षेत्रबाट कटानबारे जानकारी प्राप्त भएको र माथिल्लो निकायमा पनि त्यसबारेमा समन्वय गरिएको बताइन् । साथै उनले सुरक्षा निकायहरुलाई उच्च सतर्कताको साथमा राखिएको पनि बताइन् । 'अहिले सप्तकोशीको वहाव कम हुदै आएको छ । हामी, सुरक्षा निकायहरु अलर्ट भएर बसेका छौं,' उनले भनिन्,'कटान वस्तीमा छिर्न नदिन सर्तक छौं ।'