धरान: धरानमा डेंगुका विरामीहरुको संख्या बढ्दो क्रममा रहेपनि उपमहानगरपालिकाले नियन्त्रणको लागि चासो देखाएको छैन । 

डेंगु नियन्त्रणको लागि अहिले वडा कार्यालयहरुले फगिङको उपाय लगाएका छन्, तर स्वास्थ्य मापदण्ड अनुसार डेंगु नियन्त्रणको लागि फगिङ भन्दा सर्च एण्ड डिस्ट्रोय पहिलो प्राथमिकता हो । यसतर्फ धरान उपमहानगरपालिका, स्वास्थ्य महाशाखाको ध्यान पुगेको छैन । सबैभन्दा बढी वडा १७, १६ र ११ मा डेंगुका विरामी देखिएका छन् । अन्य वडामा पनि डेंगुका विरामीहरु रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । 

वडा नं १७ का कार्यवाहक अध्यक्ष मनिष बिष्टका अनुसार डेंगुकै कारण वडामा एक महिलाको मृत्युसमेत भइसकेको छ । फोकल्याण्डका ३२ बर्षीया महिलाको मृत्युबारे स्वास्थ्य महाशाखामा जानकारी दिएको उनले बताए । डेंगुको प्रकोप बढ्दै गएपछि आफु ३, ४ दिन लगातार स्वास्थ्य महाशाखा धाएपनि वास्ता नगरिएको उनले गुनासो गरे । वीपी प्रतिष्ठानका बिशेषज्ञ जनशक्ति, नगरको स्वास्थ्य महाशाखा र सहरी स्वास्थ्यका कर्मचारीको टिम बनाएर परिचालन गर्न आग्रह गरेपनि वास्ता नगरिएको उनले बताए । 

कुनै उपाय नलागेपछि र वडाबासीबाट धेरै माग भएकोले फगिङ भइरहेको बिष्टले जानकारी दिए । ‘आधा वडामा फगिङ भइसक्यो, अब २ दिनमा पुरै वडा सकिन्छ,’उनले भने,‘स्वास्थ्य महाशाखा गम्भीर भएको पाइन ।’

डेंगु प्रभावित १६ नम्बर वडाका अध्यक्ष मुरारी भट्टराईले पनि जनताको माग अत्यधिक भएकोले फगिङ गर्ने काम भइरहेको बताए । उनले मंगलबार संघसंस्था, टिएलओ, क्लबहरुको बैठक राखेर डेंगु नियन्त्रणको लागि अभियान चलाउने तयारी भइरहेको पनि बताए । ‘डेंगु नियन्त्रणको लागि घर घरमा पुग्छौं,’उनले भने । 

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने डेंगु नियन्त्रणको लागि चासो रहेको बताए । फगिङ गरिदिदा मात्र चासो लिएको भन्ने आमबुझाई भएको भन्दै उनले डेंगु नियन्त्रणको लागि फगिङ भन्दा पहिलो प्राथमिकता सर्च एण्ड डिस्ट्रोय नै रहेको बताए । सर्च एण्ड डिस्ट्रोय गर्न २० वटै वडा कार्यालयहरुलाई पत्राचार पनि गरिसकेको उनले बताए ।