धरान: डेंगुको प्रकोप बढ्दै गएपनि नियन्त्रणमा ध्यान नपुगेको भन्दै चर्को आलोचना खेपिरहेको धरान उपमहानगरपालिकाले परिक्षणको लागि ६ हजार थान किट माग गरेको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्रचार गर्दै ६ हजार थान डेंगु टेष्ट किट माग गरेको हो । धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ईपिडेमियोलोजीले डेंगु परिक्षणको लागि टेष्ट किट दिने भएको छ । ‘हामीले परिक्षणको लागि किट माग गरेका छौं, दिने पनि भएको छ,’उनले भने ।

डेंगुको प्रकोप बढेपछि धनकुटास्थित प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय गरेर किटसहित विज्ञ, प्राविधिक टोली आउन आग्रह गरिएको पनि मेहताले बताए । उक्त टोली आएपछि प्रभावित क्षेत्रमा परिक्षण गर्ने र डेंगुको अवस्था पत्ता लागेपछि नियन्त्रण, व्यवस्थापनमा सहज हुने उनले बताए । ‘हामीले सर्च एण्ड डिस्ट्रोय अभियान शुरु गर्ने तयारी गर्दैछौं । वडाहरुलाई पनि पत्राचार गरिसकेका छौ । थुप्रै वडाहरुले फगिङ गरिरहेको छ,’मेहताले भने,‘मेयर, उपमेयरको नेतृत्वमा एक दुई दिनभित्रै वृहतरुपमा सर्च एण्ड डिस्ट्रोय अभियान थाल्नेछौं । माइकिङ पनि भोलीदेखि शुरु हुदैछ ।’

पोथी लामखुट्टेबाट हुने डेंगुले धरानभरि प्रभावित बनाए पनि उपमहानगरपालिकाले सचेतना र नियन्त्रणमा आवश्यक पहल नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । वडाहरुले फगिङ गरिरहे पनि त्यो प्रभावकारी उपाय होइन । धुँवाले बालबालिका र वृद्धवृद्धा तथा विरामीहरुको स्वास्थ्यामा झनै असर पर्ने भएकोले लामखुट्टेको लार्भा नष्ट गर्ने सर्च एण्ड डिस्ट्रोय अभियान नै वृहतरुपमा गरे मात्र प्रभावकारी हुने चिकित्सकहरुको भनाई छ । तर, उपमहानगरपालिका, जनप्रतिनिधिहरुले यो अभियान शुरु गर्न ढिलाई गरिरहेकोमा आलोचना भइरहेको छ । 

denguecopy