धरान: सोमबार बिहान बसेको धरानको कार्यपालिका बैठकमा वडा नं १० का अध्यक्ष विवेक राईले दिएको अभिव्यक्तिप्रति धरान फुटबल क्लबले आपत्ति जनाएको छ । 

क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै कुनै पनि वहानामा क्लबको मानमर्दन सह्य नहुने भन्दै कडारुपमा भत्र्सना गर्ने पनि जनाएको छ । सोमबार कार्यपालिका बैठकमा वडाअध्यक्ष राईले सबै क्षेत्रको बजेट घट्दा बुढासुब्बा गोल्डकपलाई विनियोजन गरिएको ९ लाख बजेटमा पनि घटाएर ७ लाख बनाउनुपर्ने धारणा राखेका थिए । साथै, बुढासुब्बा गोल्डकपले बुढासुब्बा गोल्डकपको गएको सँस्करणको हिसाबकिताब सार्वजनिक नगरेको भन्दै पारदर्शी नगरे बजेट नदिने र अरु नै क्षेत्रमा दिनुपर्ने धारणा पनि राखेका थिए । उनको भनाईमा मेयर हर्क साम्पाङले पनि समर्थन जनाएका थिए ।

क्लबले भने प्रतियोगिता सम्पन्न भएपनि अझै केही संघसंस्थाबाट र धरानकै केही वडाहरुबाट अझै पनि छुट्याएको रकम प्राप्त हुन नसकेकोले असार मसान्तसम्म पर्खने निर्णय गरेकोले हिसाबकिताब सार्वजनिक गर्न ढिलाई भएको जनाएको छ । क्लबका महासचिव प्रताप तामाङले आर्थिक बर्षको समाप्तीपछि मात्र बितेको बर्षको लेखा परीक्षण हुनेबारे वडाअध्यक्षले हेक्का राख्नुपर्ने बताए । साथै उनले प्रतियोगिताको आयव्यय चाडो सार्वजनिक गर्ने पनि प्रतिवद्धता जनाए ।

डस्टबिन नराखेको कुरा गरेको तर छिमेकी सहरहरुमा फ्लड लाइट जडान भएर रात्रीकालिन प्रतियोगिता शुरु भइसक्दा पनि धरानमा फ्लड लाइट नभएको कुरा वडाअध्यक्ष राईले किन नउठाएको भन्दै प्रश्न गरेका छन् । यस्तै, यति लामो समय बितिसक्दा पनि रंगशाला निर्माण कार्य सम्पन्न हुन नसकेकोमा प्रश्न किन नउठाएको भन्दै उनले वडाअध्यक्ष राईलाई प्रश्न गरे । ‘अझ अघि बढेर सोध्न चाहन्छौं कि नगर खेलकुद विकास समिति गठन गर्न सक्नुभयो ?’ महासचिव तामाङले भने ।

हामीलाई एकपैसा चाहिदैन, तर अपमान गर्न पाइदैन: अध्यक्ष किशोर राई  

dfc press1

धरान फुटबल क्लबका अध्यक्ष एवं प्रदेश फुटबल संघका अध्यक्षसमेत रहेका किशोर राईले जनप्रतिनिधिहरुले क्लबले फुटबल खेलको विकासमा गरेको योगदानको सम्मान गर्नुको साटो अपमान गर्ने कार्य गरेको बताए । उनले खेलकुदको विकासको लागि नीति, कार्यक्रम बनाउन खेलकुद सम्बद्ध संघसंस्था, व्यक्तिहरुसँग समन्वय पनि नगर्ने र उल्टै खेलकुदको अपमान गर्ने गरि अभिव्यक्तिहरु दिएको भन्दै आक्रोश पनि व्यक्त गरे । 'हामीलाई एकपैसा चाहिदैन, तर यसरी अपमान गर्न पाइदैन,' उनले भने । 

अध्यक्ष राईले खेलकुदको विकास गर्ने हो भने कुल बजेटको ५ प्रतिशतसम्म विनियोजन गरिनुपर्ने पनि बताए । खेलकुदको विकासको लागि गरिएको माग सम्बोधन नगरि उल्टै अपमान भएको भन्दै अध्यक्ष राईले असन्तुष्टी जनाए । ०७८ सालसम्मको आयव्यय वैधानिकढंगले अडिट गरेर क्लब सञ्चालन गरेको उल्लेख गर्दै उनले कार्यपालिका बैठकको अभिव्यक्ति सच्याउनुपर्ने र बजेट न्यायपुर्ण नभएकोले पुर्नविचार हुनुपर्ने माग गरे । उनले प्रतियोगिता आयोजनाको लागि मात्र नभै खेलकुदको पुर्वाधार निर्माण र विकासमा पनि बजेट विनियोजन गर्नुपर्ने बताए । 

धरान फुटबल क्लबलाई पटक पटक प्रहार गरेको भन्दै उनले क्लबका सदस्यहरुको तीन पुस्ते छानबिन गर्नुपर्ने पनि बताए । कार्यपालिका बैठकमा धरानको दीर्घकालिन विकासको लागि छलफल नै नभएकोमा चिन्ता व्यक्त गर्दै उनले सानो तिनो बजेटमा विवाद गरेको बताए ।

भिडियो: