धरान: कोरा धरान २०२३ मा शनिबार देशका विभिन्न स्थानबाट २ सय बढी साइक्लिष्टहरु सहभागी भएका छन् ।

हरेक बर्ष जुलाईको तेस्रो शनिबार कोरा राइड आयोजना हुने गर्छ । धरानमा पनि विगत ६ बर्षदेखि कोरा धरान च्यालेञ्ज आयोजना भइरहेको कार्यक्रमका संयोजक विनयलाल श्रेष्ठले जानकारी दिए । शनिबार धरान १८ स्थित गुरुङ समुदायको गुम्बाबाट कोरा च्यालेञ्ज शुरु भएको थियो । जसमा २२५ जना साइक्लिष्टहरु सहभागी थिए । 

उनका अनुसार विश्वका विभिन्न सहरहरुमा हुने कोरा च्यालेञ्ज नेपालमा सन् २०११ देखि शुरु भएको थियो । पहिलो पटक काठमाण्डौंमा ३५ जनाबाट शुरु भएको कोरा च्यालेञ्जमा अहिले नेपालका विभिन्न सहरहरुमा हुने गरेको छ । कोरा भन्नाले तिब्बती भाषामा गुम्बा, स्तुपालाई परिक्रमा गर्ने प्रचलन भएको पनि संयोजक श्रेष्ठले बताए । ‘साइक्लिष्टहरुले साइकलमार्फत परिक्रमा गर्ने गरेका छौं । धरानमा आज पहिलो पटक यति धेरै सहभागी छौं,’उनले भने,‘काठमाण्डौं, ललितपुर, विराटनगर, तरहरा, पाल्पालगायत विभिन्न ठाउँबाट सहभागीहरु आउनु भएको छ ।’

kora1

कोरा धरान च्यालेञ्जको रुट करिब ४० किलोमिटरको रहेको थियो । गुम्बाबाट शुरु भएको कोरा च्यालेञ्ज धरान १७ रेल्वे, धरान १० स्वास्तिका चोक, धरान १३ जानकी चोक, धरान १ रेडक्रस चोक, धरान १४ विजयपुर हुदै धरान १५ काठे पुल, धरान ४ देवी गाउँ, धरान ५ निशाने जंगल हुदै विभिन्न वडा परिक्रमा गर्दे पुनः गुम्बामा पुगेर समापन भएको थियो । साइक्लिष्टहरुलाई वडा नं १८, १६ र १४ ले भव्यरुपमा स्वागत गरेका थिए । 

कोरा च्यालेञ्जमा सहभागी हुन साइक्लिष्टहरुले शुल्क तिर्छन् । शुल्कवापत उठेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्ने गरिएको छ । यसपाली कोरा च्यालेञ्जमा संकलित रकमलाई धरानका मेयर हर्क साम्पाङले घोषणा गरेको ज्येष्ठ नागरिक अस्पताललाई सहयोग गर्ने पनि संयोजक श्रेष्ठले बताए । 

भिडियो:

भिडियो: