धरान: हतियारधारी अज्ञात समुहले लुटपाट गरि गोली प्रहार गरेका घाइते युवाको उपचारको क्रममा निधन भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचारको क्रममा विराटनगर ५ का २८ बर्षीय रोहित चौधरीको निधन भएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक एवं सुचना अधिकृत देउकुमार लिम्बुले घाइते चौधरीको निधन भएको पुष्टि गरे । उनले भने,‘घाइतको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको छ ।’

प्रहरीका अनुसार घटना साँझ करिब साढे ५ बजे तिरको हो । धनकुटा घुमेर मोटरसाइकलमा घर फर्कदै गरेका रोहित र उनकी प्रेमीका सुमना खत्री धरान इटहरी सडकखण्डको सेउती पुल कटेर रोकिएका थिए । पानी पिउनको लागि रोकिएको बेला पैदल हिड्दै आइरहेका ३ जना युवाले उनीहरुलाई लुटपाट गरेर गोलीसमेत प्रहार गरेका थिए । गोली प्रहारबाट रोहित गम्भीर घाइते भएका थिए । सुमनाले एम्बुलेन्स रोकेर घाइते रोहितलाई वीपी प्रतिष्ठानमा उपचारको लागि ल्याएकी थिइन् ।

सुमनाका अनुसार हतियारधारी समुहका २ जनाले खुकुरी बोकेका थिए भने एक जनासँग पेस्तोल थियो । घटनास्थल धरान र इटहरीको सिमा क्षेत्र हो । त्यसैले इटहरी र धरान प्रहरीले जंगलमा सर्च अप्रेशन गरिरहेको छ भने सिमा नाकामा पनि कडाईका साथ चेकजाँच भइरहेको छ । घटनास्थल चारकोशे जंगल भएकोले पनि प्रहरीले जंगलमा सर्च अभियान गरिरहेको छ । सुमनालाई चोटपटक नलागे पनि मानसिकरुपमा उनी विछिप्त बनेकी छिन् ।