धरान: धरान वडा नं १५ का जनप्रतिनिधि, टोल विकास संस्था (टिएलओ) र राजनीतिक दलका प्रतिनिधिहरुले भालु खोला र सेउतीको मुहानको पानी वितरण बन्द गर्न माग गरेका छन् ।
उनीहरुले मंगलबार खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङलाई भेटेर लिखित माग पत्र बुझाएका छन् । मेयर साम्पाङले श्रमदानमार्फत ल्याएको भालु खोला र सेउतीको मुहानको ठिक उत्तरतर्फको डाँडामा छाला प्रशोधन उद्योगसँगै वंगुर र कुखुरा फर्मसमेत सञ्चालनमा रहेका छन् । ती फर्महरुको फोहोर बर्षामा बगेर भालु खोला र सेउती खोलामा मिसिएर पिउने पानीको स्रोत दुषित हुने र महामारी हुने जोखिम रहेको भन्दै वडा १५ बासीले उक्त स्रोतको पानी वितरण बन्द गर्न माग गरेका हुन् ।
उनीहरुले साविकमा झैं धरान १४ मा रहेको खानेपानी बोर्डको विजयपुर सबसिस्टमबाट पानी वितरण गर्न पनि खानेपानी बोर्डलाई आग्रह गरेका छन् । मेयर साम्पाङले भालु खोला र सेउती खोलाको पानी संकलन गरेर धन्यवाद ट्यांकीमार्फत वडा १५ लाई वितरण गरिरहेका छन् । यो स्रोत उपयोग गर्नुअघि वडा १५ लाई विजयपुर सब सिस्टमबाट पानी वितरण भइरहेको थियो ।

भालु खोला र सेउतीको मुहान खुल्ला बगिरहेको खोलामा सिधै पोलिथिनको पाइप असुरक्षित तरिकाले ल्याएको भन्दै वडाबासीहरुले असन्तुष्टी पनि जनाएका छन् । त्यस क्षेत्रमा नुहाउन, पौडी खेल्न जाने गरेकोले पनि पानी फोहोर हुने गरेकोले त्यो स्रोत उपयोग गर्न नहुने उनीहरुको भनाई छ । वडा अध्यक्ष नरेश इवारमले टिएलओ, राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरेर स्थलगत अवलोकन गर्न पनि गएको जानकारी दिदै छाला उद्योग, वंगुर फर्म र खुकुरा फर्मको फोहोर सिधै मुहान क्षेत्रमा बगेर जाने देखिएकोले तत्काल त्यहाँको पानी वितरण बन्द गर्न माग गरिएको बताए । सुद्ध र पिउन योग्न पानी वितरण हुने उचित व्यवस्थापन नगरेसम्म उक्त स्रोत बन्द गर्न उनले पनि आग्रह गरे ।

मेयर साम्पाङले तत्काल नै खानेपानी बोर्डका कार्यकारी निर्देशन राजु पोखरेललाई पानी परीक्षण गर्न लिखितरुपमा नै निर्देशन दिएका छन् । साथै उनले मुहान क्षेत्रको उद्योगहरुलाई व्यवस्थापन गर्नको लागि सञ्चालकहरुलाई छलफलमा बोलाएको पनि जानकारी दिए । बोर्डका निर्देशक पोखरेलले पानी सुद्धिकरण गर्न बिहान र बेलुकी वितरण अघि ट्यांकीहरुमा फिटकिरी र क्लोरिन हालिरहेको र चाडै चौबिसै घण्टा हाल्ने व्यवस्था गरिने जानकारी दिए ।
भिडियो:
भिडियो:
भिडियो:







