धरान: भानुचोकस्थित घण्टाघर धरान उपमहानगरपालिकाको मातहतमा गएपछि मेयर हर्क साम्पाङले आफन्तलाई जागिर खुवाएको आरोप लागेको थियो । अहिले पुनः २ जना कर्मचारी हटाएपछि मेयर साम्पाङको विरोध भइरहेको छ । 

भर्खर मात्र उमेर हद देखाएर धरान २ का राजा लिम्बु र धरान १४ का प्रकाश राईलाई अवकाश दिइएको थियो । चौकीकारकारुपमा रहेका लिम्बु घण्टाघर निर्माण अवधिदेखि नै करारमा कार्यरत थिए भने राई विगत ८ बर्षदेखि मालीकोरुपमा कार्यरत थिए । दुवैलाई अवकाश दिइएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पुर्वमेयर मनोज मेन्याङ्बोदेखि मजदुर नेता भिम राई ज्वालाले पनि विरोध जनाएका छन् ।

पुर्वमेयर मेन्याङ्बोले दुवैलाई जर्बजस्ती अवकाश दिएर आफ्नो नातागोता, आसेपासेहरुलाई जागिर खुवाउने अखडा बनाएको आरोप लगाएका छन् । 'घन्टाघर स्थापनाकालदेखि नै काम गर्दै आएको कामदारलाई हटाएर उनीहरुको स्थानमा अरु जोकोहीलाई ज्यालादारीमा जागिर लगाउन कति न्यायसंगत हुन्छ ? मलाई लाग्छ मेयर साबको यो कदमलाई जतिनै निन्दा गरेपनि कम हुन्छ,' पुर्वमेयर मेन्याङ्बोले फेसबुकमा लेखेका छन्,'ज्यालादारीमा ज्यामी काम गरिखान सरकारले उमेर हद कहाँ तोकेको छ ? एउटा ज्याला मजदुर गरिखाने मान्छेलाई जीवनको उत्तरार्धमा आएर उनीहरुको जीवन उपार्जनको निमित्त हेर्नु पर्ने स्थानीय सरकार प्रमुखले ब्याक्तीले खाईपाई आएको रोजिरोटी खोस्नु कति न्यायसंगत होला ?'

पुर्वमेयर मेन्याङ्बोले अन्यायपूर्ण निर्णयलाई पुनर्विचार गरी ती कर्मचारीहरुको रोजिरोटी नखोस्न आग्रह गरेका छन् । साथै, जनताको न्यायको पक्षपाती हुँ भन्ने मेयरले यस्तो निर्णय लिनु कुनै हालतमा पनि न्यायसंगत नहुने पनि उनले लेखेका छन् । यस्तै, मजदुर नेता भीम ज्वाला राईले पनि दुवै जना श्रमिकलाई मेयर साम्पाङले पुर्नवहाली गर्न माग गरेका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुकमा पुर्नवहाली नगर्ने हो भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९१ (३) को व्यवस्था अनुसार सबै सेवा सुविधाहरु उपलब्ध गराएर ससम्मान विदाई गर्नुपर्ने पनि उल्लेख गरेका छन् । यही दुई विकल्पमध्ये कुनै पनि विकल्प रोजेनन् भने मेयरको तानाशाही शैली विरुद्ध आन्दोलन गर्नुपर्छ,' उनले लेखेका छन् ।

पुराना कर्मचारी कामबाट निकालिएको बारेमा राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थाम्देनले राजा लिम्बुसँग सोमबार फेसबुकमा संक्षिप्त कुराकानी गरेर पोष्ट गरेका थिए । उक्त कुराकानीमा मेयरले घण्टाघरमा आफ्नै ज्वाई नियुक्ती गरेको प्रसंग पनि उनले उप्काएका थिए । थाम्दोनसँगको कुराकानीमा उनले मेयरले आइतबार बोलाएपछि भेट्न गएको तर कुरा नसुनेको गुनासो गरेका थिए । उमेरको हदबन्दी लगाएर हटाएकोमा असन्तुष्टी पोख्दै लिम्बुले दैनिक ज्यालादारीमा काम गर्नेलाई सकुञ्जेल गरिखान पाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए । 

जागिरबाट निकालिएका दुवै जना मंगलबार पनि मेयर साम्पाङलाई भेट्न गएका थिए । मेयर साम्पाङले मिडियामा किन गएको भन्दै प्रश्न गरेर अब पुर्ननियुक्ती हुदैन भनेको लिम्बुले जानकारी दिएका छन् । मंगलबार मेयर साम्पाङसँगको भेटबारे पुनः थाम्देनसँग घण्टाघरमा कुराकानी गर्दै जानकारी दिएका हुन् । उनले आफ्नो भत्ता पाउने उमेर पनि नपुगेको र अन्यत्र जागिर पाउने सम्भावना पनि नरहेको लिम्बुले जानकारी दिएका छन् । 'मेयर साब रिसाउनुभयो । मिडियामा जानु भयो, काम हुदैन भन्नुभयो,' थाम्देनले फेसबुकमा पोष्ट गरेको भिडियोमा भनेका छन्,'क्षतिपूर्ति भन्दा पनि पुर्नःनियुक्ती भए राम्रो । भत्ता पाउने उमेर पनि छैन, न मलाई कसैले जागिर नै दिन्छ ।'