धरान: भदौ २५ गतेदेखि दोस्रो यु १८ धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल टुर्नामेन्ट २०८० आयोजना हुने भएको छ ।

प्रतियोगिता धरान मेघा हिमालयन कलेज धरान १२ को बास्केटवल कोर्टमा हुनेछ । यो प्रतियोगिता दिवंगत बास्केटवल खेलाडी रेवाहाङ रुछेन्बुङ राईको स्मृतिमा गत बर्षदेखि शुरुवात गरिएको हो । धरान १८ निवासी उदयीमान बास्केटवल खेलाडी राईको १६ बर्षकै उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । कक्षा १० मा अध्ययनरत रेवाहाङको सम्मानमा उनका अभिभावक, धरान मेघा हिमालयन कलेज र धरान बास्केटवल संघको सहकार्यमा गत बर्षदेखि प्रतियोगिता शुरुवात गरिएको हो । प्रतियोगितालाई निरन्तर आयोजनाको लागि अभिभावकले २ लाख रुपैयाका अक्षयकोष पनि स्थापना गरेका छन् । 

प्रतियोगिताको विजेताले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पर्नेछ भने उपविजेताले १० हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यो पुरस्कार पहिलो सँस्करणभन्दा वृद्धि गरिएको पनि आयोजकले जनाएको छ । यस्तै, मोष्ट भ्यालुएवल खेलाडी, उत्कृष्ट स्कोरर र उदयीमान खेलाडीलाई पनि पुरस्कार दिइनेछ । 

प्रतियोगितामा धरान र आसपासका क्षेत्र, जिल्लाबाट गरि १२ वटा टिमले सहभागिता जनाउने अपेक्षा गरिएको आयोजक कलेजका अध्यक्ष कैलाश लिम्बुले जानकारी दिए । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने खेलाडीहरुले मात्र सहभागीता हुन पाउनेछन् । त्यसमध्ये पनि कक्षा १० सम्मका ६ जना खेलाडी अनिवार्य हुनुपर्नेछ । अन्य ६ जना खेलाडी कक्षा ११ र १२ पढ्ने पनि सहभागी हुन पाउनेछन् । कक्षा १० सम्मका खेलाडीहरुको हकमा भने सबै १२ जना खेलाडीहरु समावेश हुन पाउने पनि उनले बताए । 

प्रतियोगितामा १८ बर्ष उमेर भएका तर १९ बर्षमा पाइला नटेकेका खेलाडीहरुले पनि सहभागिता हुन पाउने बास्केटवल प्रशिक्षक विकास राईले बताए । प्रतियोगिताको फाइनल अघि थ्री पोइन्ट प्रतियोगिता पनि हुनेछ । यो प्रतियोगितामा पहिलो चरणमा सहभागी खेलाडीले १ मिनेट थ्री पोइन्ट सट गर्नेछ । त्यसमध्येबाट बढी बास्केट गर्ने उत्कृष्ट तीन खेलाडी छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्येबाट एक मिनेटमा जसले बढी थ्री पोइन्ट बास्केट गर्छ, उही थ्री पोइन्ट च्याम्पियन घोषित हुने पनि प्रशिक्षक राईले जानकारी दिए ।

भिडियो: