धरान: दोस्रो यु १८ धरान मेघा रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिता शुरु भएको छ ।

धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा प्रतियोगिताको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले गरेका थिए । उनले अम्पायरलाई वल हस्तान्तरण गरेपछि प्रतियोगिताको उद्घाटन खेल धरान आदर्श र कार्मेल स्कुलबीच शुरु भएको छ । प्रतियोगिता भदौ ३० गते सम्पन्न हुनेछ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री राईले खेलकुद  शिक्षाको अभिन्न अंग भएको बताए । खेलकुदले नामसँगै दाम पनि प्राप्त हुने उनले बताए । ‘खेलुकद पनि आजको दुनियाँमा शिक्षा हो, जहाँ काम पनि छ, जहाँ नाम पनि छ,’ उनले भने,‘संसारमा धनाढ्यहरुमा गणना गर्ने हो भने उत्कृष्ट खेलाडीहरु पनि छन् । मेस्सीको कति सम्पत्ति छ, हिसाब किताब गरेर सकिने अवस्था छैन । फुटबल खेलाडीको मात्र होइन, अरु खेलका खेलडाीहरुको पनि नाम, दाम देख्न सक्छौं । खेलाडीहरुलाई उत्साहित गर्नु, प्रेरित गर्नु राम्रो काम हो ।’

basket7

कोशी प्रदेशसभा सदस्य सांसद रमेश बस्नेतले सबै जुटेर मात्र धरानको विकास र उन्नती गर्न सकिने बताए । यसको लागि जाति, धर्म, पार्टी, समुदायभन्दा माथि उठ्नुपर्ने उनले बताए । ‘सबै मिल्यौं भने मात्र जित हासिल गर्न सक्छौं, धरानबासी सबै मिलेर जाने प्रतिवद्धता जनाउछौं,’उनले भने । 

उपमेयर अइन्द्रबिक्रम बेघाले पनि खेलकुदको सहर, आधुनिक सहर, साँस्कृतिक विविधता भएको सहरमा बेला बेला केही प्रश्नहरु पनि उठ्ने गरेको बताए । उनले सामुहिक प्रयास, लगानी, जिम्मेवारीबाट मात्र धरानलाई चिनाउन सकिने बताए । रेवाहाङका बुबा रेवतीरमण राईले बास्केटवल खेल्ने छोराको निधन भएपनि उनीजस्तै खेलाडी हुन चाहनेहरुलाई प्रोत्साहन गर्न अक्षयकोष स्थापना गरिदिएको बताए । अब रेवाहाङ आफुहरुको छोरा नभएर समाजकै, राष्ट्रकै छोरा भएको पनि बताए ।

भिडियो:

प्रतियोगितामा सुनसरी, धनकुटा, मोरंग, झापालगायतका विभिन्न १६ वटा विद्यालयका टिमले सहभागिता जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद २० हजार, उपविजेताले नगद १० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र पनि पाउनेछ । मोस्ट भ्यालुएबल खेलाडीले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछ । उत्कृष्ट स्कोरर खेलाडीले नगद २ हजार, ट्रफी र प्रमाण पत्र पाउनेछ । यस्तै, मुख्य प्रतियोगिताको फाइनल अघि थ्री पोइन्ट कम्पिटिशन पनि हुनेछ । यसको विजेता खेलाडीले नगद २ हजार, ट्रफी र प्रमाणपत्र हात पार्नेछ । 

 यो प्रतियोगिता धरान १८ निवासी १६ बर्षीय रेवाहाङ राईको स्मृतिमा गत बर्षदेखि शुरुवात गरिएको हो । बास्केटलका उदयीमान खेलाडी रेवाहाङको २०७७ माघ २० गते असामयिक निधन भएको थियो । उनको सम्मानमा अभिभावक, धरान मेघा हिमालयन कलेज र धरान बास्केटवल संघको सहकार्यमा अक्षय कोष स्थापना गरेर प्रतियोगिता शुरुवात गरिएको हो । अभिभावक रेवतीरमण राई र सुजता राईले २ लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिएका छन् । 

basket6

basket1

basket2

basket3

basket4

basket5